धनगढी,असोज २९ (ई-रैवार)
धनगढीमा खाना पकाउने ग्यास लिक हुँदा आगलागीमा परेकी महिलाको मृत्यु भएको छ । बुधबार बिहान धनगढी उप–महानगरपालिका वडा नम्बर ८ मा ग्यास विस्फोट हुँदा गम्भीर घाईते भएकी ६५ वर्षीया बिर्मादेवी विष्टको मृत्यु भएको प्रहरीले जनाएको हो ।
धनगढी उपमहानगरपालिका ८ स्थित हरिलाल विष्टको घरमा बुधबार ग्यास विस्फोट भएर आगो लागेको थियो । ग्यास विस्फोटमा परी ७० बर्षका विष्ट, उनकी ६५ बर्षीया श्रीमती बिर्मा विष्ट र १५ बर्षकी नातिनी महेश्वरी विष्ट घाइते भएका थिए ।
शरीरमा आगो लागेर गम्भीर घाइते रहेकी महिलाको उपचारमा क्रममा बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए ।
उनको उपचारको क्रममा काठमाडौँमा मृत्यु भएको उनले बताए । अन्य २ जनाको भने काठमाडौँमा उपचार भइरहेको छ । धनगढीस्थित माया मेट्रो अस्पतालबाट बुधबार नै हेलिकप्टरमार्फत तीनै जनालाई काठमाडौँ लगिएको थियो ।


