धनगढी, असोज २८ (ई-रैवार)
खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाइते भएका छन् । धनगढी उपमहानगरपालिका-८ को नवदुर्गा मन्दिर नजिकै स्थानीय हरिलाल विष्टको घरमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा तीन जना घाईते भएका हुन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका-८ का ७० वर्षीय हरिलाल विष्ट, उनकी श्रीमती ६५ वर्षीया बिर्मा विष्ट र नातिनी १५ वर्षीया महेश्वरी विष्ट रहेका छन् । प्रहरीका अनुसार बिर्मा बिष्टको अवस्था गम्भीर छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा उनीहरु घाइते भएको जानकारी दिए ।
प्रहरी निरीक्षक हिकमत थापाको नेतृत्वको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पुराएको थियो । उनीहरु तीनै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ।आगलागीबाट घरमा क्षति भएको छ ।



