काठमाडौं, असोज २५ (ई-रैवार)
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण देखिएको छ । आइतवार कोरोना संक्रमण पुष्टि भएका शिक्षा मन्त्री पोखरेलले शनिबार मात्रै बालुवाटारमा पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ ।
डाक्टर गोविन्द केसीको १९ औँ पटकको अनसन तोडाउनका लागि मन्त्री पोखरेल यो साता सक्रिय भएका थिए। वार्ता टोली गठनदेखि केसीसँगको सम्वादका क्रममा उनी शिक्षा मन्त्रालय, त्रिवि शिक्षण अस्पताल र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारसम्म पुगेका थिए ।
बालुवाटारमै असहज बिहीबार र शुक्रबार भएको वार्ताले निकास दिन नसकेपछि मन्त्री पोखरेल शनिबार सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीसहित शनिबार प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए त्यहाँ पुगेर उनले प्रधानमन्त्रीसँग केसीका माग पूरा गर्ने उपायबारे छलफल गरेका थिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई शनिबार पाटन अस्पतालमा भर्ना गरिएको थियो । भर्नापछि उनको पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको मन्त्री पोखरेलका प्रेस संयोजक सुनिल खड्काले बाह्ररीलाई जानकारी दिए ।
उनका अनुसार मन्त्री पोखरेलको अवस्था सामान्य रहेको र हाल पाटन अस्पतालमै उपचारमा रहेका छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईमा पनि कोरोना संक्रमण देखिएको थियो ।


