एजेन्सी, असोज १५ (ई-रैवार)
यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत मुम्बई इन्डियन्सले किङ्स इलाभेन पन्जाबलाई जितका लागि १९२ रनको लक्ष्य दिएको छ ।
सेख ज्यायद क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९१ रन बनायो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रोहितले ८ चौका र ३ छक्काको सहयोगमा ७० रनको योगदान गरे । त्यस्तै मुम्बईका लागि किरन पोलार्डले ४७ रन बनाउँदा हार्दिक पाड्या , ३० इशान किशन २८ र सुर्य कुमार यादवले १० रनको योगदान गरे ।
बलिङतर्फ पन्जाबका लागि शेडोन कट्रेल, मोहमद स्वामी र कृस्नपा गोथामले समान एक–एक विकेट लिए । आजको खेलमा दुवै टोली जित निकाल्ने योजनामा छन् । दुवै टोली आजको खेलमा जित निकाल्दै प्रतियोगितामा आफूलाई बलियो बनाउन चाहन्छन् ।
लिगमा चौथो खेल खेल्न लागेको मुम्बई आजको खेलमा जित निकाल्ने योजनामा छ । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेट पराजित भएको मुम्बई दोस्रो खेलमा कोलकक्ता नाइट राइडर्सविरुद्ध ४९ रनको सहज जित निकालेको थियो । मुम्बई तेस्रो खेलमा भने रोयल्स च्यालेन्जर्स बैंगलोरसँग सुपर ओभरमा पराजित भएको थियो ।
यता चौथो खेल खेल्न लागेको पन्जाब एक खेलमा जित निकाल्दा दुई खेलमा पराजित भएको छ । पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग सुपर ओभरमा पराजित भएको पन्जाब दोस्रो खेलमा रोयल्स च्यालेन्जर्स बैंगलोरविरुद्ध ९७ रनको फराकिलो जित निकालेको थियो ।
आईपीएलमा रोहितको ५ हजार रन पूरा

आईपीएल टी–ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले ५ हजार रन पुरा गरेका छन् । उनले किंग्स इलाभेन पन्जाबविरुद्धको खेलमा यो आँकडा पूरा गरेका हुन् ।
यससँगै रोहित आईपीएलमा ५ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले पन्जाबविरुद्धको खेलमा ७० रनको अर्धशतकीय पारी खेलको थिए । उनले ४५ बलमा ८ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको पारी खेलेका थिए ।
आईपीएलमा ५ हजार रन पुरा गर्ने आँकडाको पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली रहेका छन् । त्यस्तै दोस्रो स्थानमा भने पूर्व भारतीय तथा चेन्नाई सुपर किंग्सका खेलाडी सुरेस रैना छन् । त्यसपछि रोहित आईपिएलमा सर्वाधिक रन जोड्ने खेलाडीको सूचीमा छन् ।
रोहितले यो उपलब्धीका लागि १ सय ७ पारि खेलेका छन् । उनीभन्दा अघि २००८ मा आईपीएलमा डेब्यू गरेका सुरेस रैना छन् । उनले २०१९ मा ५ हजार रनको अंकडा पुरा गरेका थिए । सुरेसले ५ हजार रन बनाउन १ सय ७३ पारी खेलेका छन् ।


