काठमाडौं, असोज १२ (ई-रैवार)
प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार (आज) पनि सहमति जुट्न सकेन ।
प्रधानमन्त्री निवास बालुवाटारमा ओली–प्रचण्डबीच बिहान ११ बजेदेखि छलफल चलेको थियो । सबा दुई बजेसम्म चलेको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भए पनि निष्कर्ष निस्किइनसकेको प्रचण्ड स्रोतले जानकारी दियो । बालुवाटार स्रोतले दुई अध्यक्ष निष्कर्षमा पुग्न नसकेको बताउँछ ।
“उहाँहरू पछिल्लो दुई दिन मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित भएर कुराकानी गरिरहनुभएको छ,” बालुवाटारनिकट स्रोत भन्छ, “मन्त्रिपरिषद् पुनर्गठन कुन विधि, प्रक्रियाबाट गर्ने, मापदण्ड के बनाउने भन्ने विषयमा सहमति जुटिसकेको छैन ।”
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले केही मन्त्री हटाउने, केही नयाँ अनुहार थप्नेगरी मन्त्रिपरिषद् बैठक तत्काल पुनर्गठन गर्नुपर्ने पक्षमा छन् । प्रचण्डसँगको भेटमा यही आशय व्यक्त गरेका छन् । तर, प्रचण्डले उपाध्यक्ष वामदेव गौतमलाई पनि मन्त्रिपरिषद् बैठकमा सहभागी गराउनुपर्ने भएकाले तत्काल पुनर्गठन गर्न नहुने पक्षमा छन् । उपाध्यक्ष गौतमविरुद्ध परेको रिटको पेसी १४ गतेलाई तोकिएको छ ।
त्यसदिन फैसला आउने सम्भावना रहेकाले अहिले नै मन्त्रिपरिषद् पुनर्गठन गर्न हतारिन नहुने उनको भनाइ छ । यसमा प्रचण्डलाई वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालले पनि साथ दिएका छन् । बाह्रखरीसँगको कुराकानीमा नेता खनालले तत्काल मन्त्रिपरिषद् हेरफेर हुने सम्भावना न्यून रहेको बताएका थिए । तर, संसदीय दलका उपनेतासमेत रहेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले भने आजभोलि नै हुने सम्भावना व्यक्त गरेका थिए ।
बाह्रखरीबाट


