पत्रकारीता : मूलधर्म माथीको बहस

पत्रकारीता : मूलधर्म माथीको बहस
Spread the love

टेकेन्द्र देउवा

पत्रकारितालाई राष्ट्रको चौथो अंगको रुपमा स्वीकार गरिन्छ । तर त्यो ब्यबस्थापिका, कार्यपालिका र न्यायपालिका जस्तो अंग भने होईन । यो प्रजातान्त्रीक शासन ब्यबस्थामा बिश्वब्यापी रुपमा मान्यता पाएको अंग भने हो । सन् १७८७ तिर ग्रेड ब्रिटेनको संसदमा त्यहाँका गतिविधीहरु रिपोटिङ्ग गर्ने अवसर दिईए संगै पत्रकारीतालाई चौथो अंगको उपमा दिईएको हो । पत्रकारीता चौथो अंग हो भनेर चर्चा गर्ने पहिलो ब्यक्ति थोमस कार्लि हुन । यही बेला देखि ब्यबस्थापिका , कार्यपालिका र न्यायपालिकाका गतिविधीहरु माथी समेत निगारनी गर्ने अवसर पत्रकारीताले पायो ।

पत्रकारीतालाई नागरिकको प्रेस तथा अभिब्यक्ति स्वतान्त्रताको अधिकार संग जोडियो । नेपालमा पनि प्रेस स्वतन्त्रता संविधानत मौलिक हकको रुपमा लिईयो । यस अघिका संविधानले प्रेस स्वतन्त्रतालाई प्राथमिकतामा राखेको भएपनि संविधानसभाबाट लेखिएको नेपालको संविधान २०७२ को मुल प्रस्तावनामा नै प्रेस स्वतन्त्रताको कुरा राख्ने काम भयो । त्यसैगरी भाग ३ को धारा १९ मा संचारको हकको ब्यबस्था छ । यसले नेपालमा पत्रकारीताको अपरिहर्यतालाई महसुस गरिएको छ भन्ने कुराको थप पुष्टी हुन्छ ।

पछिल्लो समयमा नेपाली पत्रकारीतामा जुन किसिमका दृष्यहरु देखा परिरहेका पत्रकारितालाई चौथो अंग भन्न सक्ने अवस्था भने छैन । हामी चौथो अंगबाट अरू नै अंगमा रूपान्तरित भयौँ कि ? चौथो अंग हुनाका लागि त आवाजविहीनका आवाज उठाउने, नसुनिएका कुरा सुनाउने गर्नुपर्छ । अनि मात्रै पत्रकारितालाई चौथो अंग भनेर दाबी गर्न सकिएला । तर यती सम्मकी पत्रकारीता र यस पेशामा लागेका अमुक ब्यक्तिहरुकै कारण पत्रकारीता प्रतिको सम्मान होईन कि कतिपय ठाउँमा चौथो अंग नभएर चुत्थो अंग भन्नेहरु पनि भेटिन्छन् ।

यस बारेमा पत्रकारीता पेशामा लागेका ब्यक्तिहरुले सोच्नु जरुरी छ । युरोप, अमेरिकातिर आकर्षक दस व्यवसायमध्ये पत्रकारिता पनि पर्छ । जापानमा पनि त्यस्तै छ । तर नेपालमा किन दक्ष र योग्य मानिसहरुको आकर्षण पत्रकारिता पेशा तर्फ छैन । भनिन्छ, पत्रकारीताले समाजलाई दिशानिर्देश गर्छ । त्यसले अडियन्समा नयाँ धारणा बनाउने अवसर दिन्छ । तर हाम्रो समाजमा जसरी अहिले पत्रकारीतालाई बुझ्ने जमात छ त्यो धारणाको विकास पनि अहिले भैरहेको पत्रकारीताले नै गराएको हो भन्दा गलत नहोला ।

पत्रकारीतामा हामी अरूले गरेको गल्ती कोटयाउँछौं , आफूले गरेको गल्ती कोट्याउन अरूलाई मौका दिँदैनौ । हामी लेखेको समाचार सही भयो कि भएन भनेर आत्मसमीक्षा गर्नपट्टी कहिल्यै लाग्दैनौ ।

सामाजिक उत्तरदायीत्व भुल्दै पत्रकारीता

प्रेस स्वतन्त्रता भएर मात्रै हुदैन त्यो समाज प्रति उत्तरदायी पनि हुनुपर्छ भन्ने कुराको महसुस यूरोपका देशहरुले सन् १९४० को दशकका नै गरेका थिए । अमेरिकाको टाइम्स म्यागेजिनका मालिकले रोबर्ट हचिन्स नामक सञ्चारविद्लाई त्यस बेलाको बिग्रँदो पत्रकारिता अभ्यासबारे अध्ययन गरी प्रतिवेदन बनाउन नियुक्त गरेका थिए । सन् १९४७ मा हचिन्स कमिसन नाम दिइएको यस संस्थाले त्यस बेलाको दलीय पत्रकारिता, प्रोपोगान्डा, बढी व्यापारमुखी, बढी उत्तेजनापूर्ण रहेको भन्दै यसप्रति गम्भीर हुनुपर्ने सुझाव दिएको थियो ।

पत्रकारितामा सामाजिक उत्तरदायित्वको सिद्धान्त देखा पर्नु उनको अध्ययनको निष्कर्ष थियो । यसै सिद्धान्तबाट अघि बढेको वर्तमान विश्व पत्रकारितामा केही खडेरी पनि देखा परेको छ । नेपाल जस्तो विभिन्न खाले (राजनीतिक, आर्थिक, सांस्कृतिक) संक्रमणबाट गुज्रिरहेको देशमा अहिलेको पत्रकारिता अपवादबाहेक समाज प्रति उत्तरदायी छैन । यसरी नेपाली पत्रकारीता क्षेत्र मूलधर्मबाटो भन्दा बाहिर जानुको अर्को कारण हो लगानीकर्ता । संचार संस्थामा लगानी गर्नेहरुले एउटा उद्योग चलाएको जस्तै सोचेर काम गरिरहेका छन् ।

मिडियालाई नबुझेका लगानीकर्ताका कारण पत्रकारीता प्रतिको बिश्वसनियता गुमीरहेको छ । मिडिया उद्योगको लगानी भनेको कुनै चाउचाउ, बिस्कुट वा अन्य डिलरहरु संचालन गरे जस्तो होईन । यस संग सामाजिक उत्तरदायीत्व बढी जोडिएको हुन्छ । त्यही भएर त पत्रकारीताले राज्यको चौथो अंगकोरुपमा बिश्वब्यापी मान्यता पायो ।

भनिन्छ ,पत्रकारिता समाजको वाचडग हो । हरेक गतिविधिको पत्रकारहरुले निष्पक्ष ढंगले निगरानी गरिरहेका हुन्छन् । तर, हामी पत्रकारिताको मूल्यमान्यता र सिद्धान्तलाई पन्छाएर ल्यापडगको अभ्यास गरिहेका छौँ । किनकि, हाम्रो पत्रकारिता निहित स्वार्थ समूहबाट सञ्चालित छ । विज्ञापनमुखी पत्रकारिताको शैलीले हाम्रो विश्वास गुमिरहेको छ । समाचार झिकेर विज्ञापन हाल्न तयार हुन्छौँ हामी । अनि, विज्ञापनलाई समाचारको रुपमा प्रस्तुत गर्न कत्ति पनि संकोच मान्दैनौँ ।

स्वतन्त्रता, निष्पक्षता, धैर्यता, वस्तुगत, सन्तुलनजस्ता मान्यताहरु विज्ञापनको टोकरीमा फालेर आग्रह, पूर्वाग्रह र स्वार्थहरु समाचारको टोकरीबाट झिकेर हामी छाती फुलाएर कलम चलाइरहेकै छौँ । कुहिरोको काग बनेका छौंँ । रूमल्लिरहेका छौँ, कुनै खास उद्देश्य र गन्तव्य छैन । जीवन्त चलिरहने यस पेसामा विषादी भर्ने काम मिडिया सञ्चालक र पत्रकारहरुबाटै भएका छन् । पीत पत्रकारितालाई नियन्त्रण गर्न कानुन, आचारसंहिता बने पनि हामी त्यसको ख्याल गर्दैनौँ । हामीमा घमण्ड छ, किनकी हामी पत्रकार हौंँ ।

नेपाली पत्रकारीतामा समाजप्रती उत्तरदायी भएर ऐजेन्डा सेटिङ्ग गर्ने काम भएको बिरलै पाईन्छ । ऐजेन्डा सेटिङ्ग मिडिया संचालकको स्वार्थमा हुने गर्दछ । त्यसको नितान्त मिडिया मालिकको हितलाई हेर्ने गर्दछ । यस्तो पत्रकारीता कहिल्यै समाज मैत्री हुन सक्दैन । जनमैत्री पत्रकारीता हुन सक्दैन । यसले मिडिया मालिकको स्वार्थ त पुरा गर्ला तर पत्रकारीता प्रतिको सामाजिक बिश्वास गुमाउँछ । सामाजिक उत्तरदायीत्व भुल्नेमा मुलधारको मिडियाहरु भन्दा बैकल्पीक मिडियाहरु बढी छन् ।

सिद्धान्त: सामाजिक उत्तरदायीत्व बढी बोक्नुपर्ने मोफसलमा बैकल्पीक मिडियाहरुमा यस्तो समस्या रहेको छ । न्यू मिडियाहरुको त कुरै छोडौं । राज्यले नियमन गर्ने निति ल्याउन नसक्दा सिङ्गो पत्रकारीता क्षेत्रलाई यसले बदनामीत समेत गर्न थालेको छ । भ्यूअरको संख्या बृद्धी गर्ने उदेश्यले उत्तेजनात्मक,रहस्यमय,अववाह फैलाउने किसिमका समाचार शिर्षकहरु प्रकाशन तथा प्रशारण गर्ने काम भैरहेको छ । प्रविधीले नागरिक पत्रकारीतालाई त प्रवद्र्धन गरेको छ तर त्यसलाई ब्यबस्थीत गर्न सकिएको छैन ।

समाचारमा कुपोषणको बिम्व :

सञ्चारमाध्यममा जुनकिसिमका कुरा आउँछ, त्यसमा सो समाजको प्रतिविम्ब झल्किनुपर्छ भन्ने मान्यता राखिन्छ । त्यसले समाजमा ज्ञान दिनुपर्छ । सूचुचित गर्नुपर्छ । यही मान्यता राखिन्छ पत्रकारीतामा । राम्रो समाचारले रचनात्मक सुझाव दिन सक्नुपर्छ ताकी गलत गरेकाहरुलाई सही बाटोमा ल्याओस । पत्रकारीता पेशा सम्मानीत पेशा हो । यस पेशामा लागेका पत्रकारहरुलाई समाचार प्रकाशन र प्रशारण गरेकै कारण कसैबाट दुब्र्यावहार गरिनु हुदैन ।

सूचनाको हक सम्वन्धी ऐन २०६४ ले सूचना पाउने कुराको ग्यारेन्टी गरेको छ । आम नागरिक जस्तै पत्रकारहरुले सूचना पाउनुपर्छ । भलै पत्रकार सूचना संग बढी खेल्ने भएकाले सूचनाका लागि तड्पी रहेको हुन्छ । पत्रकारीता जस्तो सम्मानीत पेशामा लागेकाहरुको अरूले दुव्र्यवहार नगरोस् भन्ने चाहन्छौँ । यस्तो भनिरहदा पत्रकारहरुले एउटा कुरा बुझ्नु जरुरी छ , कतै हामीले समाचारमा चयन गर्ने शब्दले अरूलाई दुव्र्यवहार त भैरहेको छैन । हामीले बिना तथ्य सस्तो लोक प्रीयताका लागि लेख्ने हावादारी समाचारले समाज भड्काई रहेको छ छैन । एक पटक हामी सोचौ त दिनदिनै कतिलाई दुव्र्यवहार गरेका हौँला । समाचारको नयाँ परिभाषा छ ‘न्युज द्धयाट वान् क्यान युज’ अर्थात् मानिसलाई उपयोगी जानकारी नै समाचार हो । त्यो हामीले गरेका छौ वा छैनौं ।

अहिलेको पत्रकारीतालाई स्वार्थ समुहहरुले प्रभावित गर्न खोज्दा समाचारहरु कुपोषित बन्दै गएका छन् । समाचारहरुलाई स्वार्थ समुहले बिगार्ने गरेको छ । जसका कारण समाचारको मुल मर्म मरिसकेको हुन्छ । अडियन्सले त्यसमा स्वाद पाउदैनन् । बरु त्यसमा स्वार्थ समुहको गन्ध भेटाउँछ । पत्रकारीतामा स्वार्थ समुहको दबाव र प्रभाव रहिरहे सम्म त्यसले हरेक समाचारलाई कुपोषित बनाउँछ । यस्तो पत्रकारीताले समाजले हाम्रो कामको दैनिक मुल्याङुकन गरिरहेको हुन्छ भन्ने कुराको हेक्का सम्म राख्दैन । जनताले हामीलाई पास मार्क पनि दिन हिच्किचाइरहेका होलान भन्ने कुराको ख्याल हुदैन ।

त्यसैले पत्रकारीताले आफ्नो धर्म भुल्नु हुदैन । पत्रकारीताले धर्म भुलिदिएमा अन्य अंगहरु पनि धर्म भुल्ने खतरा रहन्छ । पत्रकारीतालाई ब्यबस्थीत र ब्यावहायीक बनाउने काम राज्यको हो । त्यसका लागि मिडिया मैंत्री आम संचार निति अहिलेको आवश्यकता हो । पत्रकार र पत्रकारीताले आफ्ना लागि बनाएका संहिताको पालना गरे नगरेको नियमन गर्ने निकाय छ । त्यसले प्रभावकारी भूमिका निभाउन नसकेको गुनासो छ । सबैले आफ्नो भूमिका सच्याउन सकेन भने पत्रकारीता प्रतिको बिश्वसनियता अझै गुम्ने खतरा छ ।