सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा थप ६९ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

धनगढी,  भदौ ३१ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २१ र कञ्चनपुरका ८ जनामा संक्रमण पुष्टि भएको छ ।

सूचना अधिकारी श्रेष्ठले कैलालीको गौरीगंगा नगरपालिकाका ७ जना, लम्कीचुहा नगरपालिकाका ६ जना, धनगढी उप–महानगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका २ जना, जोशीपुर र टीकापुरका १ – १ जनामा संक्रमण पुष्टि भएको बताए ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका ६ जना र बेदकोट नगरपालिकाका दुई जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । पछिल्लो २४ घण्टामा चार सय २५ जनाको कोरोना परीक्षण भएको छ। अहिले सेती प्रादेशिक अस्पतालमा १० पुरुष र ६ महिला गरी १६ जना संक्रमितको उपचार भईरहेको छ ।

डोटी जिल्ला अस्पतालको प्रयोग शालामा भएको परीक्षणमा थप ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा १ सय ५ नमुना परीक्षण गर्दा ४० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

दिपायल सिलगढी नगरपालिका–४ सुल्लेकस्थित नेपाली सेनाको गुरुबक्स गणमा कार्यरत ४० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिएका छन ।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ६ सय ५९ पुगेको छ । संक्रमण पुष्टि भएका ५ हजार ७ सयले कोरोना जितेका छन भने १४ जनाको मृत्यु भएको छ ।