वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने

वैशाख २६ गतेबाट विद्यार्थी भर्ना शुरू हुने
Spread the love

काठमाडौँ वैशाख २१(ईरैवार)

लकडाउनका कारण रोकिएको विद्यार्थी भर्ना कार्यक्रम वैशाख २६ गतेबाट शुरू हुने भएको छ ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यही वैशाख २६ गतेबाट नयाँ सत्रका निम्ति विद्यार्थी भर्ना सुरु हुने बताए ।

‘वैशाख २५ गतेसम्म बन्दाबन्दी कायम रहन्छ, त्यसपछि मन्त्रिपरिषद्ले बन्दाबन्दीको मोडेल परिवर्तन गर्नेछ,’ मन्त्री पोखरेलले भने । बन्दाबन्दीसम्म कक्षा १ देखि ९ सम्मको नतिजा प्रकाशित गर्न निर्देशन जारी भइसकेको उनले बताए ।

कक्षा ८ को जिल्ला स्तरीय परीक्षा भएकाले नतिजा प्रकाशनमा केही समस्या आएमा चाँडो निकास दिइने मन्त्री पोखरेलले बताए ।

मन्त्री पोखरेलले सामुदायिक (सरकारी) विद्यालयमा लागू हुने पाठ्यपुस्तक तत्काल सम्बन्धित जिल्लामा पुर्‍याउन जनक शिक्षा सामग्री केन्द्रलाई निर्देशन दिएको समेत बताए । ‘जनक शिक्षालाई सबै जिल्लामा पाठ्यपुस्तक पठाउन भनिएको छ,’उनले भने, ‘त्यसैअनुसार निजी विद्यालयहरूले समेत तयारी गरेका छन् । प्याब्सन, एनप्याब्सनलगायत संगठनसित त्यसैअनुसार कुराकानी भएको छ ।’

पाठ्यपुस्तक ढिलो पुग्‍ने भएकाले मन्त्रालयले प्रत्येक विद्यालयका प्रधानाध्यापकलाई ‘सफ्ट कपी’उपलब्ध गराउनु पर्ने उनले बताए । ‘तर, अहिले अनलाइन शिक्षणचाहिँ आवश्यक छैन, यसले विभेद सिर्जना गर्छ,’ उनले भने ।