पहिराले ज्यान गुमाएका परिवारलाई राहत प्रदान

Spread the love

धनगढी, कात्तिक २६ (ई-रैवार)

कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ। नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर परिवारलाई उक्त रकम हस्तान्तरण गरेकोे हो।

नगरपालिकाका तर्फबाट रु एक लाख र नगरपालिकाका लेखा अधिकृत रतन माझीको व्यक्तिगततर्फबाट रु पाँच हजार गरी रु एक लाख पाँच हजार  हस्तान्तरण गरिएको नगरप्रमुख जोशीले जानकारी दिए।

कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर मन्धरीको मृत्यु भएको थियो। असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी अविरल वर्षाका कारण उक्त नगरपालिकामा एक जनाको मृत्यु हुनाका साथै दर्जनौँ घरमा क्षति पुगेको थियो। 

बाढी र  पहिराले सयौँ भौतिक संरचनामा क्षति पु¥याउनाका साथै हजारौ रोपनी जमिन बगाएको थियो। नगरपालिका भित्र बाढी र पहिराले पु¥याएको क्षतिका बारेमा विवरण सङ्कलन भइरहेको र राहतका लागि आवश्यक पहल पनि भइरहेको नगरपालिकाले जनाएको छ।