मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो

मातृभूमिकी अभिनेत्री तान्या : ‘अण्डा, मासु नखाइ कसरी युद्धमा जान्छौ ?’ भनेपछि डर लाग्यो
Spread the love

सलमान खानको फिल्म ‘मातृभूमि–मे वार रेस्ट इन पिस’ मा महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेकी अभिनेत्री तान्या देसाईका लागि यो ठूलो अवसर हो । भारतीय अखबार दैनिक भास्करसँगको कुराकानीमा उनले सलमानसँग काम गर्दाको अनुभव सुनाएकी छिन् । तान्याका अनुसार सलमान सेटमा सबै कलाकारलाई सहज महसुस गराउँछन् र सबैलाई समान सम्मान दिन्छन् ।

उनले फिल्ममा आफ्नो भूमिका, सलमानको फार्महाउसमा पाएको उपहार, अभिनय यात्रा र मुम्बईमा सुरुवाती दिनमा भोगेका संघर्षबारे सुनाइन् ।

सलमान खानको फिल्म ‘मातृभूमि’ मा काम गर्ने अवसर कसरी पाउनुभयो ?

फिल्मका निर्देशक अपूर्व लाखियासँग मैले यसअघि वेब सिरिज ‘क्र्याकडाउन’ मा काम गरेकी थिएँ । त्यसमा पनि मैले गर्भवती महिलाको भूमिका निर्वाह गरेकी थिएँ । त्यसयता अपूर्व सर मसँग सम्पर्कमा हुनुहुन्थ्यो । ‘मातृभूमि’ मा पनि यस्तै खालको भूमिका आवश्यक परेपछि उहाँले मलाई अडिसन दिन भन्नुभयो । अडिसन दिएँ र छनोट भएँ । यति ठूलो फिल्ममा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अवसर पाउनु मेरा लागि निकै ठूलो कुरा हो ।

फिल्ममा तपाईंको भूमिका कस्तो छ 

फिल्ममा म एक सैनिक अधिकृतकी श्रीमतीको भूमिकामा छु । यसमा एक सैनिक अधिकृतकी श्रीमतीले कस्ता त्याग र कठिनाइको सामना गर्नुपर्छ भन्ने देखाइएको छ । यसबारे धेरै कुरा भन्न चाहन्नँ । दर्शकले फिल्म हेरेपछि मेरो पात्रसँग जोडिन सक्नुहुनेछ ।

सलमान खानसँगको पहिलो भेट कस्तो रह्यो ?

फिल्मको रिडिङका क्रममा महबुब स्टुडियोमा पहिलो भेट भएको थियो । उहाँ सेटमा आउनासाथ छुट्टै माहोल बनेको थियो । सबै कलाकारसँग निकै राम्रोसँग भलाकुसारी गर्नुभयो । छायांकनका क्रममा पनि उहाँसँग पटक-पटक भेट्ने अवसर मिल्यो ।

उहाँले सबै कलाकारलाई सहज महसुस गराउनुहुन्छ । उहाँको घरबाट सेटमा करिब १०० देखि १५० जनाका लागि खाना आउँथ्यो । उहाँ आफैँ सबैलाई खाना खान बोलाउनुहुन्थ्यो ।

सलमान खानसँग जोडिएको सेटको कुनै सम्झनलायक घटना छ ?

एकपटक अस्पतालको दृश्य छायांकन भइरहेको थियो । दृश्य पनि गम्भीर भएकाले सेटको माहोल त्यस्तै थियो । सलमान सर बीचबीचमा आउनुहुन्थ्यो र कुनै न कुनै ठट्टा गरेर जानुहुन्थ्यो । उहाँको टाउकोमा चोट लागेको थियो । तैपनि उहाँ सबैलाई हँसाइरहनुहुन्थ्यो । उहाँको यही स्वभावले गम्भीर माहोललाई पनि रमाइलो बनाइदिन्थ्यो ।

निर्माताका रूपमा सलमान खान कस्तो लाग्यो ?

सेटमा कुनै किसिमको समस्या भएन । खानादेखि मेकअप र अन्य सुविधासम्म सबै कुरा निकै राम्रो थियो । एसकेएफको फिल्ममा काम गर्दा हरेक कुरा व्यवस्थित हुन्छ ।फिल्मको एउटा गीतको छायांकन उहाँको फार्महाउसमा पनि भएको थियो । छायांकन सकिएपछि उहाँले कलाकारसँगै प्राविधिक टोलीका केही सदस्यलाई पनि महँगा घडी उपहार दिनुभएको थियो । यो निकै राम्रो व्यवहार थियो । मैले पनि एउटा घडी पाएकी छु र त्यसलाई सुरक्षित राखेकी छु ।

ट्रेलर सार्वजनिक गर्ने कार्यक्रममा के विशेष लाग्यो ?

सलमान सरले सञ्चारकर्मीलाई एकपटक मात्रै भन्नुभएको थियो– यो ट्रेलर अहिले यहाँ उपस्थित व्यक्तिहरूका लागि मात्रै हो, बाहिर जानु हुँदैन । त्यहाँ करिब १०० देखि १५० जना सञ्चारकर्मी क्यामेरा र मोबाइलसहित उपस्थित थिए । तर, कसैले पनि ट्रेलर चुहाएनन् । चार दिनपछि मात्रै सामाजिक सञ्जालमा ट्रेलर सार्वजनिक गर्ने योजना थियो । उहाँको एउटा आग्रहलाई सबैले यति धेरै सम्मान गरेको देख्दा मलाई निकै राम्रो लाग्यो ।

सलमान खानको कुन बानी सबैभन्दा मन पर्‍यो ?

उहाँ हरेक व्यक्तिलाई निकै ध्यान दिनुहुन्छ र सबैलाई समान सम्मान गर्नुहुन्छ । सेटमा आउँदा कसैलाई बेवास्ता गर्नुहुन्न । सबैलाई अभिवादन गर्नुहुन्छ । अर्को कुरा, उहाँले वरपरका कलाकारलाई यति सहज बनाइदिनुहुन्छ कि उहाँसँग काम गर्दा स्टारडमको दबाब महसुस हुँदैन ।

बाल्यकालदेखि नै अभिनेत्री बन्ने सपना थियो कि अरू केही बन्न चाहनुहुन्थ्यो ?

बाल्यकालमा मैले कहिल्यै अभिनेत्री बन्छु भन्ने सोचेकी थिइनँ । मेरी आमाको चाहना म सैनिक अधिकृत बनूँ भन्ने थियो । तीन वर्ष एनसीसीको तालिम पनि लिएँ र सी सर्टिफिकेट हासिल गरेँ । तर, केरलामा भएको एउटा तालिम शिविरमा रमाइलो घटना भयो । त्यतिबेला म मांसाहारी खाना र अण्डा खाँदिनथेँ । तालिमका क्रममा एक सरले ठट्टा गर्दै भन्नुभयो, ‘तिमी अण्डा र कुखुराको मासु खाँदिनौ भने युद्धमा कसरी जान्छौ रु’उहाँको कुरा सुनेर म डराएँ । त्यही मेरो अन्तिम एनसीसी शिविर बन्यो ।

त्यसपछि अभिनय यात्रा कसरी सुरु भयो ?

१२ कक्षापछि मैले नृत्य सिक्न थालेँ । बिस्तारै नृत्य प्रशिक्षक बनेँ । त्यसपछि फिल्ममा ब्याकग्राउन्ड डान्सरका रूपमा काम गर्न थालेँ । अक्षय कुमार र सोनाक्षी सिन्हाको फिल्म ‘होलिडे’ को एउटा गीतमा मैले ब्याकग्राउन्ड डान्सरका रूपमा काम गरेकी थिएँ । उक्त फिल्ममा अक्षय र सोनाक्षी स्टेडियममा फुटबल खेलिरहेको देखिन्छन् ।

‘होलिडे’ को छायांकनका क्रममा अक्षय कुमारसँग जोडिएको कुनै घटना सम्झनुहुन्छ ?

एकपटक केही व्यक्तिले सोनाक्षी म्यामसँग दुर्व्यवहार गर्ने प्रयास गरेका थिए । त्यसबेला अक्षय सर निकै रिसाउनुभएको थियो । उहाँले सोनाक्षी म्यामलाई सुरक्षित रूपमा भ्यानिटी भ्यानसम्म पुर्‍याउनुभएको थियो ।

त्यतिबेला मेरो उमेर सानै थियो । ठूला कलाकारले आफूसँग काम गर्ने व्यक्तिको सुरक्षामा कति ध्यान दिँदा रहेछन् भन्ने कुरा मैले पहिलोपटक देखेकी थिएँ ।

मुम्बई आएपछिको सुरुवाती यात्रा कस्तो रह्यो ?

म सन् २०१४ को सेप्टेम्बरमा मुम्बई आएकी थिएँ । सुरुवाती दिनमा आर्थिक समस्या थियो । मसँग जम्मा ७ हजार रुपैयाँ मात्रै थियो । भाडा र अन्य खर्च तिरेपछि करिब ५०० रुपैयाँ बाँकी रहेको थियो ।म अन्य तीनजना साथीसँग एउटा सानो कोठामा बस्थेँ तर, मलाई काम गर्नु थियो । त्यसैले कठिनाइका बाबजुद अगाडि बढिरहेँ ।

मुम्बईमा पहिलो काम कसरी पाउनुभयो ?

सुरुवातमा मैले ‘सीआईडी’, ‘क्राइम अलर्ट’ र ‘सावधान इन्डिया’ जस्ता टेलिभिजन कार्यक्रममा काम पाएँ । मेरी एकजना रुममेटले केही कास्टिङ निर्देशकको नम्बर दिएकी थिइन् । मैले उनीहरूलाई म्यासेज गर्न थालेँ ।पहिलो कामबाट २ हजार ५०० रुपैयाँ पाएकी थिएँ । त्यसपछि फायरवर्क्स प्रोडक्सनसँग मिलेर धेरै एपिसोडमा काम गरेँ । नृत्य जान्नुको फाइदा भयो र लगातार काम पाउन थालेँ । ‘सावधान इन्डिया’ बाट मैले निकै राम्रो पहिचान पाएँ । अहिले पनि धेरैले मलाई त्यही कार्यक्रमका पात्रका रूपमा चिन्नुहुन्छ ।

दक्षिण भारतीय फिल्म र वेब सिरिजसम्म कसरी पुग्नुभयो ?

म यसअघि पनि नृत्य प्रस्तुतिका लागि दक्षिण भारत जाने गर्थें । त्यही क्रममा एकजना निर्माताले मलाई सामाजिक सञ्जालमा फलो गर्नुभएको थियो । करिब एक वर्षपछि उहाँको फोन आयो र तेलुगु फिल्मको प्रस्ताव गर्नुभयो ।

कथा राम्रो लागेकाले बजेट कम भए पनि काम गर्न तयार भएँ । त्यसपछि तमिल वेब सिरिज ‘गडम्यान’मा पनि काम गरेँ । तर, त्यसको टिजर सार्वजनिक भएपछि विवाद उत्पन्न भयो र सिरिज रिलिज हुन सकेन ।

निर्देशक अपूर्व लाखियासँग कसरी भेट भयो ?

फेसबुकमार्फत अपूर्व सरसँग सम्पर्क भएको थियो । एकजना साथीले उहाँबारे बताउनुभएको थियो । त्यसपछि मैले उहाँलाई फ्रेन्ड रिक्वेस्ट पठाएँ र उहाँले स्वीकार गर्नुभयो । पछि उहाँले मलाई ‘क्र्याकडाउन’ का लागि अडिसन दिन भन्नुभयो । त्यहीँबाट हाम्रो राम्रो सम्बन्ध बन्यो । उहाँ मेरो मार्गदर्शकजस्तै हुनुहुन्छ । करियरसँग सम्बन्धित निर्णयमा सधैँ सल्लाह र मार्गदर्शन दिनुहुन्छ ।

अब कस्ता भूमिका निर्वाह गर्न चाहनुहुन्छ ?

म आफूभित्र एक कलाकारका रूपमा धेरै सम्भावना रहेको विश्वास गर्छु । आफ्नो अभिनय क्षमता देखाउन पाउने खालका भूमिका निर्वाह गर्न चाहन्छु । स्टार त बन्नै छ, तर उत्कृष्ट कलाकार पनि बन्न चाहन्छु ।