कक्षा १२ को परीक्षा स्थगित

Spread the love

काठमाडौं, साउन २३ (ई-रैवार)

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा स्थगित गरेको छ । आज बसेको बोर्ड बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यही साउन ३१ गतेदेखि परीक्षा हुने तालिका थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो ।

बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उनले बताए । उनले भने ‘अहिलेलाई स्थगित गरेका छौं । बाँकी परीक्षा हुन पन्ध्र दिन अघि सूचना जारी गरेर जानकारी दिने निर्णय भएको छ ।’

यसअघि कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।

विद्यार्थी संगठन र अभिभावकहरुले सबै परीक्षार्थी र परीक्षामा संलग्न सबैलाई कोभिड विरुद्धको खोपको व्यवस्थापन गर्न, व्यवस्थापन गर्न नसक्ने भए स्थगित गर्न माग गर्दै आएका थिए ।

परीक्षा आउन एक हप्ता बाँकी हुँदा स्वास्थ्य मन्त्रालयको सिफारिसमा सीसीएमसीले परीक्षाको नयाँ मिति तय गर्न अनुरोध गरेपछि बोर्डले पनि त्यही अनुसार तत्काललाई स्थगित गरेको छ ।