नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू

नेकपा स्थायी कमिटी बैठक बालुवाटारमा सुरू
Spread the love

काठमाडौं, भदौ २६ (ई-रैवार) 

नेकपा स्थायी कमिटी बैठक सुरू भएको छ । असार १८ गतेदेखि अवरूद्ध रहँदै आएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक भर्खरैबाट सुरु भएको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको स्थायी कमिटी बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तावको रूपमा पेस हुनेछ ।

पार्टी महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको सुझाव प्रतिवेदनलाई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले हेरफेर गरेर प्रस्तावको रूप दिएका छन् । सबै स्थायी कमिटी सदस्यहरूलाई इमेलमार्फत् उपलब्ध गराइसकिएको प्रस्ताव पारित गरेपछि स्थायी कमिटी बैठक आजै टुङ्ग्याउने सम्भावना रहेको स्रोतले जानकारी दियो ।

बैठकमा पार्टी एकताका बाँकी रहेका कामहरू आगामी असोज महिनाभित्र सम्पन्न गर्ने, आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना गर्ने, मन्त्रिपरिषद् पुनर्गठन गर्दा निश्चित मापदण्ड तय गर्नुपर्ने प्रस्तावका विषयमा छलफल भइरहेको छ।

त्यसैगरी, सरकार र अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पाेरेसनबीच भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता (एमसिसी) परिमार्जन र संशोधन गरेर पारित गर्नुपर्ने लगायतका विषयमा पनि छलफल भइरहेको छ।

असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि मोडिन पुगेको थियो । विवाद उत्कर्षमा पुगेपछि असार १८ गतेपछि स्थगित रहँदै आएको थियो । साउन १३ गते बहुमत (३१जना) स्थायी कमिटी सदस्य बालुवाटारमै भेला भए पनि पार्टी अध्यक्ष प्रचण्डले त्यसलाई जारी बैठकको निरन्तरता नमान्ने बताएका थिए ।

असार १० गतेबाट सुरु भएको बैठकमा १२, १३ गते कार्यसूचीमाथि छलफल भएको थियो । १६ गतेको बैठक प्रधानमन्त्रीको असार १४ गतेको अभिव्यक्तिमाथि केन्द्रित भएको थियो भने १८ गतेको बैठक प्रधानमन्त्री ओलीले संसद् अधिवेशन हठात् अन्त्य गरिदिएपछि अन्यौलमा टुङ्गिएको थियो ।