सुदूरपश्चिम प्रदेशका तीनवटै प्रयोगशालामा आज ४५ जनामा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशका तीनवटै प्रयोगशालामा आज ४५ जनामा कोरोना पुष्टि
Spread the love

 

धनगढी, भदौ २० (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा आज ४५ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डोटी जिल्ला अस्पताल र डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ४५ जनामा संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम प्रदेशका तीन वटै प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २४, बझाङका १६, कञ्चनपुरका ३ र डोटीका २ जनामा संक्रमण पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का १ महिला र ३ जना पुरुष, वडा नम्वर ३ का २ महिला र २ पुरुष, धनगढीको वडा नखुलेका १ महिला र २ पुरुष र वडा नम्वर ७ का १ पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन ।

सूचना अधिकारी श्रेष्ठले कैलालीकै गोदावरीका १२ जना, कञ्चनपुर पुनरवासका २ जना र भीमदत्तनगरका १ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। सेती अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४ सय ६३ जनाको कोरोना परीक्षण गरिएको छ ।

डडेल्धुरा प्रयोगशालामा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले आज कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिएका छन ।

प्रयोगशालाका इन्चार्ज प्रसाद भुसालले कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका ४ र छब्बीपाथिभरा गाउँपालिकाका २ जना कोरोना पुष्टि भएको बताए । उनका अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय १० जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ ।

जिल्ला अस्पताल डोटीको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा १ सय ६ जनाको कोरोना परीक्षण भएकोमा डोटीका २ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित दुबै जना पुरुष हुन् भने उनीहरु डोटीको सायल गाउँपालिका वडा नम्वर ६ का हुन् ।