धनगढी, साउन १० (ई-रैवार)
सेती प्रादेशिक अस्पताल धनगढीको आइसोलेसन खाली भएको छ । प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारत सबै कोराना संक्रमित निको भएर डिस्चार्ज भएपछि आइसोलेसन वार्ड खाली भएको हो ।
प्रादेशिक अस्पतालमा ८० जना कोरोना संक्रमित उपचार भएर डिस्चार्ज भएपछि साउन ६ गतेदेखि आइसोलेसन खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। उनले संक्रमित र शंकास्पद गरी १ सय ७३ जना अस्पतालको आइसोलेसनमा भर्ना भएका र उपचारपछि सबै डिस्चार्ज भइसकेको बताए ।
सरकारले होम आइसोलेसनमा बस्न पाउने निर्देशिका बनाएसँगै सम्बन्धित स्थानीय तहले पनि आआफ्नो ठाउँमा क्वारेन्टिन तथा आइसोलेसन निर्माण गरेपछि बिरामी आफ्नो पायक पर्ने स्थानमा गई उपचार गराउने भएकाले प्रादेशिक अस्पतालमा कोरोना संक्रमित घटेको सूचना अधिकारी श्रेष्ठले बताए ।
जटिल किसिमका समस्या आएमा मात्र अस्पतालमा उपचारका लागि आउने र जटिल अवस्था पनि छैन, लक्षण पनि देखिएको छैन तर पोजेटिभ देखिएको छ भने बिरामी होम आइसोलेसन अथवा नजिकको स्थानीय निकायको आइसोलेसनमा बस्ने गरेकाले पनि सेतीमा संक्रमित नथपिएको हुन सक्ने उनको भनाइ छ ।
प्रादेशिक अस्पतालको आइसोलेशनमा कैलाली, कञ्चनपुरलगायत प्रदेशका नौवटै जिल्लाका कोरोना संक्रमित बिरामी रही उपचार गराएको बताइएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि भन्दै सेती प्रादेशिक अस्पताल अन्तर्गत रहने गरी धनगढीमा ५० श्ययाको छुट्टै कोरोना अस्पताल निर्माण गरेको थियो ।


