डडेल्धुरा, साउन ८ (ई-रैवार)
मेयरमाथि अमर्यादित व्यवहार गरेको भन्दै काँग्रेसका नगर सभापति लाई प्रहरीले पक्राउ गरेको छ । अमरगढी नगरपालिका प्रमुख विश्वेश्वरप्रसाद ओझामाथी सार्वजनिक स्थलमै दुर्ब्यवहार गरेको भन्दै नेपाली काँग्रेसका नगर सभापति पक्राउ परेका हुन्।
बैठक संञ्चालनकै क्रममा नगर प्रमुखमाथि दुर्ब्यवहार गरेको भन्दै काँग्रेसका अमरगढी सभापति दानबहादुर पाललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक दधीराम न्यौपानेले जानकारी दिए।
आफुमाथि बैठक संचालनकै क्रममा पालले दुर्ब्यवहार र गरेको भन्दै अमरगढी नगरपालिकाका प्रमुख ओझाले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले बताए।
डडेल्धुराको तुफानडाडा चोक देखी अस्पताल सम्मको सडक फराकिलो गर्ने बिषयमा डडेल्धुरा अस्पताल विकास समितिले आयोजना गरेको बैठकमा सहभागी पालले नगरप्रमुख ओझालाई दुर्ब्यवहार गरेको उजुरीमा उल्लेख छ।
डडेल्धुरा अस्पताल विकास समितिले मंगलबार अस्पताल रोडको आसपासमा रहेका घरधनीहरुसँग छलफल गर्न बैठक बोलाएको थियो ।
बैठकमा नगरप्रमुख ओझाले अस्पताल रोड फराकिलो बनाउने सन्दर्भमा छलफल चलिरहेका बेला एकाएक अमरगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष खेमराज पाठकको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिनुपर्ने प्रस्ताव राखेको र सो प्रस्तावमा आफुले आपत्ती जनाएको सभापति पालले बताए ।
उनले नगरप्रमुख ओझाले अमरगढी नगरपालिका कार्यपालिकाको लेटर प्याड प्रयोग गरेर आफुविरुद्ध उजुरी दिइएको बताए । नगरप्रमुख ओझा र काँग्रेस नगर सभापति पालबीच बैठकमा भनाभन भएको बैठकका सहभागीहरु बताउछन । जिल्ला प्रहरी कार्यालयमा मंगलबारनै लिखित उजुरी दर्ता गरिएको भए पनि बुधबार दुबै पक्षलाई बोलाएर छलफल चलाउने प्रयास प्रहरीले गरेको थियो ।नगरप्रमुख ओझाको ब्यस्तताका कारण बुधबार दुबैपक्षबीच छलफल हुन नसकेको प्रहरीले जनाएको छ ।


