धर्मेन्द्र झा
संस्मरण

त्यसो त मेरो जन्म पूर्वी मधेशको सिरहा जिल्लमा भएको हो । अहिले हाम्रो वसोवास जनकपुरमा छ । सिरहाको वस्तीपुर (लहान नगरपालिका) मा हाम्रो सगोलको वसाई अहिले पनि छ । जनकपुरमा मेरा पिताजीले जोडेको बन्दोवस्त छ, हाम्रो परिवार त्यहीँ वस्छौ र अहिले भक्तपुरको वालकोटमा पनि बस्छौं ।
तर मलाई कसैले सोध्छ भन, मेरो उत्तर हुने गर्दछ, सुदूरपश्चिम पनि मेरो घर हो । मलाई सुदूरपश्चिमसँग औंधी माया लाग्छ । म हुर्केको भूमी यही नै हो । मेरो यस भूमिसँग निकट सम्बन्ध छ । कारण हो, मेरो पिताजीको जागीरको सिलसिलामा मैले मेरो वाल्यकालको करिव ५÷६ वर्षको महत्वपूर्ण समय व्यतीत गरेको छु । मैले यस प्रदेशका सबै जिल्ला टेकेको छु । मलाई सुदूरपश्चिम मेरो दोस्रो घरजस्तो लाग्दछ । यस आधारमा सुदूरपश्चिमका विविध विषयमा अनायस मेरो चासो बढेजस्तो लाग्दछ । मैले मेरो वाल्यकालको सबैभन्दा महत्वपूर्ण कालखण्डको करिव तीन वर्ष दार्चुलामा विताएको छु ।
यसपटक दार्चुलाकै स्मरणमा केही लेख्ने जमर्को गरेको छु ।
मैले विद्यालयीय शिक्षाका क्रममा नेपालका आठ जिल्लाका आठवटा विद्याालयमा अध्ययन् गरेँ । पूर्वदेखि पश्चिमसम्म अर्थात मेचीदेखि महाकालीसम्म । हिमाल, पहाड र तराई सबैतिर । कहिलेकाँही मलाई लाग्दछ मेरो जीवनको उद्देश्य नै घुम्नु हो । मैले सम्झन थालेदेखि नै घुमेकै सम्झन्छु । विकट भूगोलसँग आत्मसात । आठ जिल्लाका आठ विद्यालय, सुन्दा पनि असहज लाग्न सक्छ । तर यथार्थ यही हो । जुनवेलामा मसँग यो बाध्यात्मक अवस्था सिर्जना भयो त्यसवेला भने साँच्चै राम्ररी कुरा बुझ्दिन्थेँ र यो लगातारको घुमाई राम्रो लाग्दैनथ्यो ।मेरो विद्यालय शिक्षाको परिणाम (रिजल्ट) राम्रो छैन र त्यसवेला मेरो परिवारमा यसको एकमात्र कारण यही घुमाईलाई मानिएको थियो । सुन्दासुन्दा मलाई पनि यही नै ठीक हो कि भन्ने भान परेको थियो जो अस्वाभाविक थिएन । तर अब सोच्दछु र विश्लेषण गर्छु, लाग्दछ जे भयो राम्रै भयो ।
मैले वाल्यकालमै मेरो देश, समाज चिन्ने बुझ्ने र व्यक्तिहरुसँग संगत गर्न केही अवसर प्राप्त भयो । यो अवसर मेरो पेशाका लागि पछिल्ला दिनमा अत्यन्त महत्वपूर्ण सावित भएको निष्कर्ष मैले निकालेको छु । म नेपाल पत्रकार महासंघको केन्द्रीय अध्यक्ष –वि.सं २०६५ देखि २०६८) बन्न सक्नुमा अनेक कारणहरुमध्ये सम्भवतः मेरो यो पृष्ठभूमि पनि एक महत्वपूर्ण कारण थियो, यसमा शंका छैन ।
मैले माथि चर्चा गरेँ, मेरो विद्यालयीय अध्ययन आठवटा विद्यालयम पूरा भयो । तर सबै ठाउँको अनुभव एकै खालका हुँदैनन् । सबै ठाउँका कुरा पनि स्मरणयोग्य हुँदैनन् । यतिमात्र होइन, सबै ठाउँको वातावरणको प्रभाव जीवनमा समानरुपले पर्दा पनि पर्दैनन् । मसँग पनि यस्तै भएको छ । अहिले मैले चाहेर पनि ती आठै जिल्ला र आठवटै विद्यालयका कुरा स्मरण गर्न सक्दिन । आठै ठाउँका संगी–साथीको नाम पनि मलाई अहिले पूरापूरा स्मरण छैन । तर मेरालागि दार्चुला विशेष छ । दार्चुला, सुदूरपश्चिममा अवस्थित नेपालको सीमान्त जिल्ला ।
लिपुलेक, कालापानी, लिम्पियाधुरा आदी ठाउँका कारण अहिले यो जिल्ला चर्चित बनेको छ । धेरै नेपालीले यी ठाउँका नाम धेरै पछिमात्र सुनेका हुन सक्छन । तर मैले यी ठाउँको नाम वाल्यकालमै सुनेको हुँ । नेपाल, भारत र चीनको सीमावर्ती यो जिल्ला रणनीतिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण छ । हिमाली जिल्ला दार्चुला प्रसिद्ध तीर्थ मानसरोवर जाने मुख्य नाका मानिन्छ । अपी हिमालको काँखमा बसेको दार्चुला तीन देशबीच गोल्डन ट्यांगलका रुपम पनि प्रसिद्ध छ । यो जिल्लामा भगवान मालिकार्जुन ज्योर्तिर्लिग पनि अवस्थित रहेको मानिन्छ ।
मालिकार्जुनको नाममा यस जिल्लामा एक गाउँपालिका पनि छ । दार्चुृला जिलाको सदरमुकाम खलंगा हो । महाकाली नदीको किनारमा बसेको सानो वजार खलंगामा मेरो बाल्यकालका अत्यन्त महत्वपूर्ण अढाई वर्षभन्दा बढी समय बितेका छन । बिचमा महाकाली नदी, यतापट्टी नेपालको दार्चुलाको खलंगा र पारिपट्टी भारतको धार्चुला । पहिला खलंगा आउन नेपालतर्फबाट सडक थिएन । भारतको टनकपुरबाट बस चढेर पिथौारागढ हुँदै धार्चुला आउनुपरयो र महाकाली नदीमाथि बनेको झोलुंगे पुलमाथिबाट पैदल यात्रा गरेर दार्चुलाको खलंगा आइन्थ्यो । पहिला यो बाटोबाट यात्रा गर्न टनकपुर या पिथौरागढमा भारत सरकारको अनुमति लिनुपथर््ँयो । अब यस अवस्थामा सुधार आएको छ ।
विक्रम सम्बत २०३२ देखि २०३४ सम्म मैले दार्चुला विताएको छु । त्यसवेला मोटरबाट यहाँ आउन भारतको सडक प्रयोग गर्नुपर्ने बाध्यात्मक अवस्था थियो । अब त नेपालको बाटो भएर पनि अतरिया, डडेल्धुरा, बैतडी र गोकुलेश्वर हुँदै खलंगा पुग्न सकिन्छ । मैले खलंगामै चार, पाँच कक्षा पूरा अध्ययन गरेर छु कक्षामा केही समय अध्ययन गरेको छु । मेरा पिताजी त्यसवखत नेपाल सरकारको घरेलु उद्योग अधिकृतको जिम्मेबारीमा त्यहाँ हुनुहुन्थ्यो । वाल्यावस्थाको महत्वपूर्ण समय बितेको खलंगाका अनेक स्मृति मेरा मानसपटलमा सुरक्षित छन ।
बाल्यकालका अनेक स्मृति त्यहाँ जोडिएका छन । मेरो विद्यालयीय जीवनका जति कुरा खलंगासँग निकटरुपले जोडिएका छन् म त्यति निकटता अन्य ठाउँसँग पाउँदिन । साँचो कुरा गर्ने हो भने त्यहाँ विताइएका समयको अमीट छाप मेरो जीवनमाथि परेको छ र म आजपर्यन्त त्यस प्रभावबाट कुनै न कुनैरुपमा मुक्त हुन सकेको छैन । छ कक्षमा अध्ययन गर्दागर्दै म त्यहाँबाट अन्यत्र गएपछि फेरि खलंगा जान सकेको थिइन । खलंगा जान मैलै त्यसपछिको ४२ वर्ष कर्नुपर्यो ।
वयालीस (४२) वर्ष, स्वयंमै निकै लामो समय हो । करिबकरिब एक पुस्ता । एक पिढी । यति लामो समयको अन्तरालमा धेरै कुरा परिवर्तित हुन्छन । धेरै नव निर्माण भइसकेको हुन्छ । नया पिढी प्रौढताको सीमामा हुन्छ । तर मानिसले पछिल्लोपटक देखेकै आधारमा कुनै ठाउँ वा व्यक्तिको मूल्यांकन गर्न खोजिरहेको हुन्छ । त्यही पूरानो चित्र उसका आँखाका अगाडी नाचिरहेका हुन्छन । म पनि अपवाद थिइन । त्यही ४२ वर्ष पूरानो खलंगाको खोजी म गरिरहेको थिएँ, जो गलत थियो । मेरो जे अनुमान थियो, त्यसमा निकै परिवर्तन आइसकेको थियो ।
यो मेरो पूराना खलंगा थिएन । नयाँ थियो जसले मलाई चिन्दैनथ्यो । त्यही ४२ वर्ष पहिलेको अवस्था मेरा ईष्टमित्र, परिचित, भूगोल आदि आदि पुरानै चित्रको उपस्थिति कहाँ सम्भव थियो ? तर महाकालीको सुसेलीसँग जोडिएका मेरा बाल्कयकालका अशेष स्मृति भने अझै यथावत थिए र छन ।
धनगढी (कैलाली) का पत्रकार मित्र मनमोहन स्वाँरजीको सौजन्यबाट यसपटक त्यहाँ जाने अवसर जुटेको थियो । मनमोहनजीको संस्था सञ्चार प्रतिष्ठान नेपालद्वारा खलंगामा त्यहाँका पत्रकारका लागि एउटा अभिमुखीकरण कार्यक्रमको आयोजना गर्नुपर्ने थियो । उहाँको प्रस्तावमा मैले दार्चुला भ्रमणको लोभ संवरण गर्न सकिन र यात्राका लागि तयार भएँ । २०७६ को असारको २२ गते धनगढीबाट दार्चुलाका लागि प्रस्थान गरियो । हामीहरु दिउँसो करिब साढे तीन बजे गोकुलेश्वर पुगेका थियौं । चमेलिया नदीको किनारमा अवस्थित यो यस क्षेत्रको प्रसिद्ध वस्ती हो ।
चमेलिया नदी बैतडी र दार्चुलाको सीमा नदी हो । पूलवारि बैतडीको दोगडा केदार ग्रामपालिका र पारिपट्टी दार्चुलाको शैल्य शिखर नगरपालिका छ । स्थानीय स्तरमा संयुक्तरुपमा यो ठाउँ गोकुले अर्थात गोकुलेश्वरका नामले स्थापित छ । यहाँ बैतडीतर्फ खासै वजार छैन तर दार्चुलातर्फको वजार तुलनात्मकरुपमा ठूलो र राम्रो छ । यही वजार छेउमा एक विमानस्थल पनि छ तर त्यो चालू अवस्थामा छैन । स्थानीय सरकार यसको सञ्चालनका लागि प्रयत्नरत रहे पनि प्रदेश र संघ सरकारको उपेक्षका कारण अहिलेसम्म सकारात्मक परिणाम भने प्राप्त भइसकेको छैन ।
यहँी प्रसिद्ध चमेलिया जलविद्युत आयोजना पनि सञ्चालित छ । हामीहरु चमेलिया पुल पार गरेर दार्चुला जिल्ला प्रवेश गरिसेकेका थियौं । यहाँबाट ७२ किलोमिटर छ सदरमुकाम खलंगाको द्वार गल्फै । हामी एकछिन वजारमा अलमलियौं र चिया खायौ । कस्तो अचम्म विजुलीको गढमा विजुलीको अभाव । अत्यधिक गर्मी । तर चिया खाने होटलमा पंखा चलिरेहको थिएन । राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रावधान (आइएलओक प्रस्ताव १६९) अनसार स्थानीय स्रोत–साधनमाथि सबैभन्दा पहिलो अधिकार स्थानीय वासिन्दाकै हुनुपर्ने हो । तर यहाँ यस्तो छैन । यहाँ उत्पादित विजलीबाट देशका अन्य ठाउँ उजेलिन्छन तर गोकुलेश्वरवासी अँध्यारो र प्रचण्ड गर्मी सहन बाध्य । हाम्रो यात्राको नेतृत्व गर्दे थिए हाम्रो गाडीका चालक राम सिंहले । उनले निर्णय सुनाएपछि हामी पुनः यात्रातर्फ अग्रसर भयौं ।
म र मनमोहनजी गाडीमा कुरा गर्दे गाडीबाट दायाँ–बायाँको भूगोल तथा प्रकृतिको रसपान गर्दै, महाकालीलाई नियाल्दै आपसमै यति व्यस्त भयौ कि कुनवेला गल्फै आयो हामीले थाहा पाएनौं । त्यो त त्यहिवेला पत्रकार प्रेम चुनारा भाईको फोन आएपछि कहाँ छौं भनेर जवाफ दिन गाडीको झ्यालबाट बाहिरको साइनबोर्ड हेर्दा थाहा भयो हामी त गल्फै पो आइसकेका रहेछौ । प्रेमलाई हामीले आफूहरुको अवस्थितिका बारेमा जानकारी दियौं । उनले हामीलाई निर्देश गरेअनुसार हामी त्यही रोकिएर होटल वैशेख इन रिसोर्टतर्फ लाग्यौ । साँझको छ वजिसकेको थियो ।
हामी होटेल पुगेको एकैछिनपछि प्रेम चुनारासँगै पत्रकारहरु शंकर धामी र मनोज बडू आए । गल्फै त अहिले राम्रो वजार बनिसकेको रहेछ । पहिला त यो ठाउँ खलंगा वजारबाट अलि टाढाको जंगलयुक्त एकान्त नमस्कार वस्ती थियो । मैले मेरो मानसपटलमा बनाएका चित्र त पहिलो दृष्टिमै खण्डित भइसकेको थियो । भोलीपल्ट २३ गते हाम्रो अभिमुखीकरण कार्यक्रम थियो । म भोलिपल्ट विहानै उठेर एक्लै खलंगा वजारतिर लागेँ र पुराना दृश्य कोट्याउँदै वालापन स्मृतिको प्रयास गर्न थालेँ । केही अपवादका स्थानबाहेक सबै कुरामा परिवर्तन आइसकेको रहेछ ।
हाम्रो कार्यक्रम सकिएपछि हामी फेरि सामूहिकरुपमा घुम्न प्रस्थान गर्यौं । यसअघि मेरा मितज्यू (यही हुँदा लगाएको) दीपककुमार अवस्थीसँग भेट भयो । उहाँबाट हाम्रा पुराना साथीहरुका बारेमा कुराकानी भयो । धेरैजसो अहिले यहाँ रहेनछन ।
२४ गते विहान एकछिन हामीलाई फुर्सद थियो । म आफू अध्ययन गरेको महेन्द्र नमुना माध्यमिक विद्यालय गएँ । विद्यालय त वन्द थियो तर प्रधानाध्यापक रामदत्त जोशीसँग भेट भयो । मभन्दा एक सत्र पछिका त्यही विद्यालयका विद्यार्थी जोशीसँग नयाँ पुराना अनेक सन्दर्भमा छलफल भयो ।
२४ गते नै मेरा एकजना अर्का सहपाठी नारायणदत्त बडूसँग पनि भेट भयो भलाकाुसारी भयो । पत्रकारिताका मेरा विद्यार्थी राजेन्द्र र पार्वती बडुसँग पनि धेरै दिनपछि भेट भएको थियो । राम्रो लाग्यो । हामीहरु खलंगाबाट विदा भयौ । सारमा खलंगामा निकै परिवर्तन आइसकेको रहेछ । २०७० साल असार महिनामा महाकालीमा भयानक बाढी आएको थियो । निकै विध्ंवश मच्चायो त्यसले । स्थानीय धेरै व्यक्तिका अनुसार खलंगामा भौतिक परिवर्तनका दृष्टिले त्यो बाढीले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । धेरैजसो नयाँ संरचनाको निर्माण त्यही बाढीपछि भएको हो ।
अहिले महाकाली किनारमा विशाल तटवन्ध गरिएको छ र कालान्तरमा महाकाली नगरपालिकाले यो तटबन्धलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गर्न सक्ने प्रचूर सम्भावना छ । राम सिंह गाडी गुडाइरहेका थिए । खलंगा, महाकाली र मेरा स्मृतिहरु पछाडी छुट्दै गइरहेका थिए । दत्तुसम्म त महाकाली हामीसँगै थिइन । तर त्यसपछि उनले बाटो बदलिइन र हामीले पनि उनलाई पच्छ्याइरहन सकेनौं । हामीहरुको गाडी निरन्तर अगाडी बढिरहेको थियो ।


