काठमाडौं, असार ३० (ई-रैवार)
कोरोना संक्रमितको संख्या विश्वमा एक करोड साढे २७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २७ लाख ६८ हजार ३ सय ७ पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो नम्बरमा ब्राजिल । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ५ लाख ६६ हजार ६ सय ५४ पुगेको छ । भने ७१ लाख ५६ हजार ९ सय २५ मानिसहरु निको पनि भइसकेका छन ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २ सय १६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
कोरोना भाइरसको संकट ‘झनै खराब भएर जान सक्ने’ विश्व स्वास्थ्य संगठनको चेतावनी
सबै राष्ट्रहरुले स्वास्थ्य सुरक्षाका आधारभूत नियमहरुको पालना नगरेमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने चेतावनी विश्व स्वास्थ्य संगठनले दिएको छ ।
विश्व स्वास्थ्य संगठनका डाइरेक्टर जनरल टेड्रोस अधनोम घेबे्रससले जेनेभास्थित मुख्यालयबाट एउटा भर्चुअल प्रेस व्रिफिङमा कोरोनाभाइरस महामारीको संकट झनै खराब भएर जान सक्ने बताएका छन ।
‘आधारभूत कुराहरुलाई पालना गरिएन भने, एउटै मात्र कुरा के हो भने यो महामारी जारी रहनेछ, यो झनै खराब, र खराब बन्दै जानेछ । तर यो यस किसिमले हुनुहुँदैन,’ उनले भनेका छन । ‘धेरै नै मुलुकहरु गलत दिशातिर अघि बढिरहेका छन र विश्वव्यापी रुपमा संक्रमितको संख्या १ करोड ३० लाख नजिक पुगिसकेको छ,’ उनले चेतावनी दिँदै भनेका छन ।
उनले ‘तत्कालै पहिलेको स्थितिमा फर्कन सकिने अवस्था देखा नपरिसकेको’ बताउँदै भनेका छन, ‘तर रोगलाई नियन्त्रण गरेर हामी हाम्रो जीवनलाई अघि बढाउन सकिने बाटाहरु छन ।’
‘हामीले हाम्रा जनजीवनलाई पूर्णतः बन्द नगरिकनै वा एउटा लकडाउनदेखि अर्को लकडाउनसम्म नघिस्रिकने पनि यो भाइरसमाथि पर्याप्त मात्रामा नियन्त्रण गर्दै एउटा धान्न सकिने अवस्थामा पुग्नु जरुरी छ,’ उनले भनेका छन ।
त्यो स्थितिमा पुग्नका लागि हामीलाई तीनवटा कुराहरुको आवश्यकता पर्दछ,’ उनले भनेका छन, ‘मृत्युदरलाई घटाउने कुरामा केन्द्रीत हुने र संक्रमण दरमा कमी ल्याउन समग्र समुदायलाई जोगाउने गरी आफ्नै खालका उपायहरु अपनाउने, बलियो र सक्रिय समुदायको निर्माण र सरकारी नेतृत्व र सूसुचित गर्ने कुरा ।’
उनका अनुसार, यो महामारीलाई नियन्त्रण गर्न कुनै छोटो तरिका उपलब्ध छैन, यो स्थितिमा हामीले प्रभावकारी खोपको अपेक्षा गरिरहेकै बेला हामीले अहिले उपलब्ध विधि र उपायहरुको प्रयोग गरेर संक्रमणदरलाई दबाउन तथा जीवनको रक्षा गर्नु जरुरी छ ।


