धनगढी जेठ ६ (ई-रैवार)
नेपाल सरकारले रोजागारीका सिलसिलामा विदेशमा रहेर महामारीका कारण अलपत्र परेकाहरूलाई नेपाल भित्र्याउने भएको छ ।
विदेशमा रहेका नागरिकलाई उद्धार गर्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको छ। कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तयार पार्नेछ ।
सरकारले विदेशबाट फर्किनेहरूको व्यववस्थापन गर्न सातै प्रदेशमा एक-एकजना संघीय सरकारका मन्त्रीहरूलाई ‘फोकल पर्सन’ तोकेको छ । उनीहरूले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्नेछन्। भारत बाहेक नै करिब ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ।
फोकल पर्शनहरूमा प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ, प्रदेश २ मा श्रममन्त्री रामेश्वर राय, वागमतिमा महिला बालबालिकामन्त्री पार्वत गुरुङ, गण्डकीमा भूमि व्यवस्थामन्त्री पद्मा अर्याल, प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णालीमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिममा उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्नेछन् ।


