रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो

रौतहटमा दुईजनामा कोरोना संक्रमण भेटियो
Spread the love

रौतहट वैशाख १६ (ई-रैवार)

रौतहटमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको वृन्दावन नगरपालिका- ९ का २५ वर्षीय पुरुष तथा देवाही गोनाही- १ का अर्का ३५ वर्षीय एक पुरुषमा संक्रमण देखिएको हो ।

रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ६ स्थित क्वारेन्टाइनमा बसेर यही बैशाख ६ गते घर फर्काइएका वृन्दावन नगरपालिकाका पुरुषमा कोरोना संक्रमण देखिएको चन्द्रपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. श्यामबाबु शाहले जानकारी दिए ।

उनका अनुसार प्रादेशिक ल्याब जनकपुरबाट पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर फर्काइएका उनलाई काठमाडाैँस्थित केन्द्रीय प्रयोगशालामा पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय गौरका निमित्त प्रमुख महेश साहका अनुसार देवाही गोनाहीका संक्रमित पुरुष भने क्वारेनटाइनमै रहेका छन् । अब दुवै संक्रमितको कन्ट्याक ट्रेसिङ्ग गरिने उनले बताए ।

यद्यपी यो खबरलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अझै सार्वजनिक गराको छैन ।