रारामा ४५ करोडको आयोजना अलपत्र

रारामा ४५ करोडको आयोजना अलपत्र
Spread the love

सुर्खेत कात्तिक  । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सञ्चालन गरिएको ४५ करोड रुपैयाँभन्दा बढीको आयोजना अलपत्र परेको छ ।

निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति २० प्रतिशत मात्रै पुगेको छ भने निर्माण व्यवसायीलाई ३२ प्रतिशत भुक्तानी दिइसकिएको छ । निर्धारित समयसीमा सकिएपछि म्याद थपको प्रक्रिया अघि बढिरहेका बेला निर्माण कार्यसमेत बन्द भएको छ ।कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत डिभिजन वन कार्यालय मुगुमार्फत ठेक्का लगाइएको रारा पर्यटकीय पूर्वाधार निर्माण आयोजनाको ठेक्का रकम ४५ करोड २९ लाख १० हजार ४७९ रुपैयाँ छ । २०७९ असार २४ गते सम्झौता भएको आयोजनाको निर्माण २०८३ असार मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो । तर समयसीमा सकिँदासमेत काम पूरा हुन नसकेपछि पुनस् म्याद थप गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।रारा ताल वरिपरि करिब १५ किलोमिटर पर्यटकीय पदमार्ग निर्माण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजनामा हालसम्म करिब ११ किलोमिटर क्षेत्रमा ढुङ्गा सोलिङ गरिएको बताइएको छ । तर समग्र भौतिक प्रगति भने २० प्रतिशत मात्रै रहेको मन्त्रालयको पछिल्लो विवरण छ ।कुल ठेक्का रकमको ३२ प्रतिशत भुक्तानी हुँदा आयोजनाको भौतिक प्रगति २० प्रतिशत मात्रै हुनुले भुक्तानी र निर्माण कार्यको अवस्थाबारे प्रश्न उठाएको छ । कुल ठेक्का रकमका आधारमा ३२ प्रतिशत भुक्तानी करिब १४ करोड ४९ लाख रुपैयाँ हुन्छ ।भौतिक र वित्तीय प्रगतिलाई सीधै तुलना गरेर अनियमितता भएको निष्कर्ष निकाल्न नमिल्ने भए पनि भुक्तानी कुन–कुन कामको मूल्याङ्कनका आधारमा गरिएको हो भन्ने विषय स्पष्ट हुन आवश्यक छ । आयोजनाको नापी विवरण, प्राविधिक मूल्याङ्कन र भुक्तानीको आधार सार्वजनिक गर्नुपर्ने देखिन्छ ।

निर्माणको जिम्मेवारी पटक–पटक परिवर्तन

आयोजनामा कमसल निर्माण सामग्री प्रयोग भएको र रारा ताल आसपासबाट अवैध रूपमा बालुवा उत्खनन गरिएको गुनासो उठेको थियो । निर्माण कार्यमा कर्णाली नदीको बालुवा प्रयोग गर्नुपर्ने भए पनि कम्पनीले सहजताका लागि रारा आसपासकै क्षेत्रबाट बालुवा उत्खनन गरेको आरोप लागेको थियो ।रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटु, मुगुले रारा क्षेत्रमा बालुवा उत्खननजस्ता अवैध काम भएको सूचना प्राप्त भएपछि निर्माण कार्य रोक्न लगाइएको थियो ।

आयोजनाको ठेक्का खानी थोदुङ क्याराभान कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । निर्माण व्यवसायी चन्द्र थकालीसँग जोडिएको कम्पनीबाट सुरु भएको काम पछि ध्रुव शाही, धनवीर कामी र जसिमल विकसम्म पुगेको छ ।

स्थानीय निराश

आयोजनाको सुस्त प्रगति र निर्माण कार्यलाई अगाडि बढाउने विषयमा निर्माण व्यवसायी र वन मन्त्रालयबीच छलफल भएको छ । अहिले म्याद थपको प्रक्रिया अघि बढिरहेको भए पनि निर्माण कार्य कहिले सुरु हुन्छ र बाँकी काम कहिलेसम्म सम्पन्न हुन्छ भन्ने स्पष्ट कार्यतालिका सार्वजनिक भएको छैन ।

राराको पर्यटन विकासका लागि संघ र प्रदेश सरकारबाट विभिन्न योजना आउने गरे पनि ती समयमै सम्पन्न नहुँदा अपेक्षित लाभ लिन नसकिएको स्थानीयको गुनासो छ । पदमार्ग निर्माण सम्पन्न भए पर्यटकलाई ताल वरिपरि घुमफिर गर्न सहज हुने र पर्यटन व्यवसाय विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।

४५ करोड रुपैयाँभन्दा बढीको आयोजना चार वर्षमा २० प्रतिशत मात्रै अघि बढ्नु र निर्माण कार्य बन्द हुनुले सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठाएको छ । अब म्याद थपसँगै निर्माणको गुणस्तर परीक्षण, भुक्तानीको पारदर्शिता, वातावरणीय मापदण्डको पालना र बाँकी काम सम्पन्न गर्ने स्पष्ट कार्यतालिका आवश्यक देखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्यानी खडकाले काम नगरे ठेक्का तोडने प्रक्रियामा जानुको विकल्प नभएको बताइन् ।