किसानलाई सधैँ मलकै पिरलो

किसानलाई सधैँ मलकै पिरलो
Spread the love

काठमाडौं साउन ।सर्लाहीको लालबन्दी–१७ रानीगन्जस्थित वडा कार्यालयमा युरिया मलको न्यायोचित वितरण नभएको भन्दै किसानहरूले लगाएको ताल्चा बुधबारसम्म पनि खुल्न सकेको छैन ।

यो सर्लाहीको प्रतिनिधि घटना मात्र होइन । मुख्य खेतीपातीको समयमा (धान रोप्ने र गोडमेल गर्ने सिजन) देशैभर रासायनिक मलको चर्को अभाव हुँदा किसानहरू ठूलो मारमा परेका छन् ।तराईका सुगन्धित फाँटदेखि पहाडका गराहरूसम्म यतिबेला युरिया, डीएपी र पोटास मल नपाएर किसानहरू भौँतारिन बाध्य छन् । स्थानीय कृषि डिपोहरूमा बिहान ४ बजेदेखि नै किसानको लामो लाइन लाग्ने गरे तापनि, घण्टौँपछि ‘मल छैन’ भन्ने उत्तर पाएर रित्तो हात फर्कनुपर्ने बाध्यता छ ।समयमा मल हाल्न नपाउँदा खेतमा लगाएको धान पहेँलो हुँदै गएको र यसले उत्पादनमा व्यापक गिरावट ल्याउने चिन्ताले किसानलाई सताएको छ । कतिपय डिपोहरूमा मल थोरै र माग्ने किसान धेरै भएपछि झडपको स्थिति सिर्जना भई प्रहरीको रोहबरमा मल बाँड्नुपर्ने अवस्था आएको छ भने धेरैजसो डिपोहरू मल अभावकै कारण बन्द छन् ।अनुदानको मल वितरण व्यवस्थापन प्रणालीले देशमा रासायनिक मलको मौज्दात र आयातको स्थिति देखाउने गरेको छ । प्रणालीको विवरणअनुसार हाल कृषि सामग्री कम्पनी लिमिटेड ९केएससीएल० सँग २० हजार ३२५ मेट्रिक टन युरिया, २८ हजार मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास मौज्दात छ ।त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसन ९एसटीसी० सँग करिब २६ हजार मेट्रिक टन युरिया, २८ हजार ७५० मेट्रिक टन डीएपी र ५ हजार मेट्रिक टन पोटास मौज्दात रहेको छ । ढुवानीका क्रममा ९इनरुट० युरियातर्फ केएससीएलको १ हजार २२३ मेट्रिक टन र एसटीसीको ४१९ मेट्रिक टन आउँदै छ भने डीएपीतर्फ केएससीएलको ६४८ मेट्रिक टन र पोटासतर्फ केएससीएलको ११७ मेट्रिक टन तथा एसटीसीको ५४८ मेट्रिक टन बाटोमा रहेको छ ।

कसरी हुन्छ ठेक्का ? किन आउँदैनन् नेपालमा धेरै आपूर्तिकर्ता ?

कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख डा। रामकृष्ण श्रेष्ठका अनुसार नेपालमा रासायनिक मल आपूर्तिको प्रक्रिया अर्थ मन्त्रालयले स्वीकृत गर्ने बजेट र अन्तर्राष्ट्रिय बजार मूल्यमा आधारित हुन्छ । प्राप्त बजेटका आधारमा ७० प्रतिशत कृषि सामग्री कम्पनी र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसनलाई बाँडफाँट गरी वार्षिक आपूर्ति योजना बनाइन्छ । सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार आह्वान गरिने ३० दिने इ–बिडिङ प्रक्रिया, प्राविधिक तथा आर्थिक मूल्याङ्कन, आशयको सूचना, सम्झौता र एलसी खोल्ने काम सकिएपछि आपूर्तिकर्तालाई ढुवानीका लागि १०७ दिनको समय दिइन्छ ।नेपालको सानो बजार (२०–३० हजार टनसम्मको खरिद), ५ प्रतिशत टीडीएस कट्टाको व्यवस्था, र बहु–चरणको ढुवानीका कारण अन्तर्राष्ट्रिय कम्पनीहरू आकर्षित हुन सकेका छैनन् । कलकत्ता बन्दरगाहमा ठुला जहाज आउन नसकी साना डुङ्गामा सामान पल्टाउनुपर्ने, ढिलाइ हुँदा करोडौँ रुपैयाँ विलम्ब शुल्क तिर्नुपर्ने र रेलवे र्‍याक समयमा नपाइने जस्ता जटिलताका कारण हाल मुख्यतः इन्डियन पोटास लिमिटेड (आईपीएल), आदित्य बिर्ला र सन इन्टरनेसनल (दुबई) गरी तीनवटा कम्पनीले मात्र ठेक्कामा भाग लिइरहेका छन् ।अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्यमा आउने तीव्र उतारचढावले पनि ठेक्का प्रक्रिया गम्भीर रूपमा प्रभावित हुने गरेको छ । ‘उदाहरणका लागि प्रतिमेट्रिक टन ४०८ डलरमा ठेक्का लिएको युरियाको मूल्य बढेर १ हजार ६० डलरसम्म र ७०० डलरको डीएपी १ हजार १०० डलरसम्म पुग्दा आपूर्तिकर्ताहरूले घाटा सहनुभन्दा धरौटी जफत गराएर ठेक्का तोड्नुलाई सहज ठान्छन् । साथै, १०७ दिनभित्र ९९ प्रतिशत मल ल्याए पनि बाँकी १ प्रतिशतका लागि सम्पूर्ण ठेक्का रकमको दैनिक ०.०५ प्रतिशतका दरले लाग्ने कडा जरिबानाको नियमले गर्दा विदेशी कम्पनीहरू ठेक्का लिन हिचकिचाउँछन् । हाल समयमा मल आपूर्ति नगरेका कारण दुईवटा कम्पनीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ भने व्यावहारिक रूपमा एउटा मात्र कम्पनी बाँकी रहने जोखिम सिर्जना भएको छ,’ डा। श्रेष्ठले भने ।विश्वव्यापी बजार अनिश्चितताका बीच भारत सरकारसँग गरिएको जी–टु–जी सम्झौताले भने मल आपूर्तिको शतप्रतिशत ग्यारेन्टी गरेको छ । जसअन्तर्गत साउनको दोस्रो वा तेस्रो सातासम्म डीएपी र त्यसपछि युरिया मल आइपुग्नेछ ।

यस वर्षका लागि प्राप्त ३२ अर्ब ४६ करोड रुपैयाँको बजेटले उच्च मूल्यका कारण अधिकतम ३ लाख ६५ हजार मेट्रिक टनसम्म मात्र मल ल्याउन सकिने अनुमान गरिए तापनि कम्पनीले विभिन्न चरणमा गरी कुल ४ लाख ८२ हजार ५०० मेट्रिक टनको ठेक्का प्रक्रिया अघि बढाएकोमा २ लाख २२ हजार मेट्रिक टन नेपाल भित्रिसकेको छ भने ६० हजार मेट्रिक टन आउने क्रममा छ ।

तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्ष आयात र वितरण दुवैमा उल्लेखनीय वृद्धि भएको छ । गत वर्ष ४ लाख ७२ हजार २८७ मेट्रिक टन मल आयात भई ४ लाख ५५ हजार ९४० मेट्रिक टन बिक्री भएकोमा यस वर्ष बढेर ५ लाख ६१ हजार ४९३ मेट्रिक टन आयात भइसकेको छ भने ५ लाख ४६ हजार मेट्रिक टनभन्दा बढी मल वितरण भइसकेको छ ।

माग र खपतको अवस्था असमान
नेपालमा रासायनिक मलको माग र खपतको अवस्था भने निकै असमान रहेको पाइएको छ । प्राविधिक सिफारिसका आधारमा देशलाई वार्षिक १७ लाख ३७ हजार टन रासायनिक मल आवश्यक पर्ने देखिए तापनि माटोको स्वास्थ्य र सन्तुलित प्रयोगलाई हेर्ने हो भने वार्षिक ८ लाख टनले समग्र माग धान्न सक्ने डा। श्रेष्ठको भनाइ छ ।

हाल उपलब्ध मलमध्ये ८० प्रतिशत हिस्सा तराई क्षेत्रमा मात्र खपत हुने गरेको छ, जसमध्ये मधेस प्रदेशका आठ जिल्लाले मात्रै कुल खपतको करिब २९ प्रतिशत हिस्सा ओगट्छन् । सिफारिसबिना नै कतिपय क्षेत्रमा आवश्यकभन्दा ३ देखि ५ गुणा बढी मल प्रयोग गर्ने प्रवृत्तिका कारण पनि बजारमा कृत्रिम अभाव र चाप बढ्ने गरेको छ ।सरकारले मल वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन देशभरका १४ हजारभन्दा बढी डिलर र सहकारीहरूलाई डिजिटल सफ्टवेयर प्रणालीमा आबद्ध गरे तापनि यसको कार्यान्वयन फितलो देखिएको छ । सहकारीहरूले मल लगिसकेपछि कुन किसानलाई कति परिमाणमा बिक्री गरे भन्ने विवरण सफ्टवेयरमा प्रविष्ट गर्नुपर्ने नियम भए पनि ग्रामीण क्षेत्रमा इन्टरनेट, विद्युत् र प्रविधिको पहुँच नपुग्दा विवरण प्रविष्टिमा ढिलाइ हुने गरेको छ । अघिल्लो लटको विवरण प्रविष्ट नगरेसम्म प्रणालीले नयाँ मल उठाउन रोक्ने प्राविधिक व्यवस्थाका कारण डिपोमा मल भएर पनि सहकारीले लैजान नसकेपछि सरकारले हाललाई यो नियममा केही लचकता अपनाएर वितरण सहज बनाएको छ ।

रासायनिक मलको यो दीर्घकालीन समस्याबाट मुक्ति पाउनका लागि विज्ञहरूले जैविक र प्राङ्गारिक खेतीतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका छन् । खाद्यका लागि कृषि अभियानुका संयोजक उद्धव अधिकारीले सरकारलाई रासायनिक मलको साटो जैविक मल उत्पादनमा लगानी बढाउन सुझाव दिएका छन् ।

माटो र मानव स्वास्थ्य जोगाउनका लागि रासायनिक मलमाथिको परनिर्भरता घटाएर देशमै जैविक मलको उत्पादन बढाएमा राष्ट्रिय पुँजी बाहिर जानबाट जोगिने र उत्पादनमा आधारित अनुदान दिएमा रासायनिक मलको माग क्रमशः घट्दै जाने उनको विश्वास छ । त्यसैगरी, कृषि विज्ञ दीपेश नेपालले पनि सरकारले जैविक र प्राङ्गारिक खेतीलाई आवश्यक प्राथमिकता र अपनत्व नदिएका कारण किसानहरू रासायनिक मलको चक्रव्यूहबाट निस्कन नसकेको बताएका छन् ।