नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिवका एन्टोनियो गुटेरेस गौतमबुद्ध जन्मस्थल लुम्बिनी आइपुगेका छन् ।
महासचिव गुटेरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाली, लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामा लगायतले लुम्बिनीमा स्वागत गरेका छन् ।
पोखराबाट अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेस विशेष विमानबाट गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल हुँदै लुम्बिनी आइपुगेका हुन् ।
गुटेरेसले लुम्बिनीमा झन्डै २ घन्टा बिताउने छन् । बिहान साढे ९ बजे लुम्बिनी आउने कार्यक्रम तय भए पनि अन्नपूर्ण बेस क्याम्पमै ढिलाइ भएपछि महासचिवले पोखरामै खाना खाएर निर्धारित समय भन्दा २ घन्टा ढिलो लुम्बिनीमा आएका हुन् । लुम्बिनीको अशोक स्तम्भ परिषरबाट उनले मिडियामार्फत लुम्बिनीको विषयमा सम्बोधन गर्ने कार्यक्रम पनि रहेको लुम्बिनी विकास कोषले जनाएको छ ।


