काठमाडौं, जेठ । सिटी होटल लिमिटेडले निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले वैशाख २५ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको थियो ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।जसमध्ये पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई निष्कासन गरिसकेको छ । यस्तै ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएपछि सर्वसाधारणका लागि १३ लाख ५५ हजार ९४० कित्ता सेयर निष्कासन खुला गरेको हो ।
शुक्रबार बिहान कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोब आईएमई क्यापिटलले आईपीओ बाँडफाँट गरेको हो ।कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको १ करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयरका लागि आवेदन परेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । जसमध्ये ४ हजार ९९२ आवेदकको आवेदन रद्द भएर १० लाख ९२ हजार ६६७ जनाको योग्य आवेदन परेको हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ । यसरी आईपीओ बाँडफाँट गर्दा १ लाख ३५ हजार ५९४ जना योग्य आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् । अन्य आवेदकले भने सेयर प्राप्त गरेनन् ।


