काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) र खेलाडीबीच चार महिनादेखिको विवादमा सहमति भएको छ । खेलाडी वर्गीकरणको विषयमा भएको विवादका कारण असन्तुष्ट क्रिकेटर र क्यानबीच छलफल भएको भोलिपल्ट सहमति भएको हो ।
आइतबार र सोमबार भएका ‘म्याराथन बैठक’पछि खेलाडीहरू सन्दीप लामिछानेको कप्तानीमा खेल्न राजी भएका छन् भने क्यान खेलाडीको कारबाही फिर्ता लिन सहमत भएको छ । आइतबार साँझ क्यान र खेलाडीबीच एक खालको सहमति बनेको थियो । जसअनुसार क्यानले खेलाडीलाई गरिएको कारबाही फिर्ता गर्नुपर्ने, खेलाडीले सन्दीपको कप्तानीमा खेल्ने समझदारी भएको थियो ।
त्यसमा कप्तान ज्ञानेन्द्र मल्लले साथीहरूसँग छलफल गर्न सोमबार बिहान ९ बजेसम्मका लागि समय मागेका थिए । सोमबार बिहान ज्ञानेन्द्रले क्यानसमक्ष थप एक माग तेर्स्याए ।
क्यानले ‘सेन्ट्रल कन्ट्रयाक्ट’ का लागि गरिएको खेलाडी वर्गीकरणमा नपरेका रोहितकुमार पौडेल, गुल्शन झा र विक्रम सोबलाई पनि समावेश गर्नुपर्ने माग उनले गरेका थिए । क्यानले खेलाडी वर्गीकरणमा परिवर्तन गर्न नसकिने तर प्रदर्शनका आधरमा ‘इन्सेन्टिभ’ दिन सकिने जनाएको थियो ।
त्यसमा दुवै पक्ष राजी भएका थिए । क्यानले रोहितकुमार पौडेलसहित तीन खेलाडीलाई जनही एक लाख रूपैयाँ ‘इनसेन्टिभ’ दिने भएको छ । सोमबार ज्ञानेन्द्रसहित सबै खेलाडी होटल पुगिसकेका छन् ।
ज्ञानेन्द्र मल्लसहित ९ खेलाडी राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२० विश्वकप ग्लोबल क्वालिफायरका लागि ३० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो ।
क्यानको कारबाहीमा परेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्लसहित ४ जना र अन्य ५ गरी ९ खेलाडी सोमबार टिम बसेको होटल रमादा इनकोरमा आइपुगेको राष्ट्रिय टिमका म्यानेजर सुमनराज कार्कीले जानकारी दिए । उनीहरुलाई १७ पुससम्म रिपोर्टिङ गर्न भनिएको थियो ।
सोमबार ९ जना खेलाडी आएसँगै बन्द प्रशिक्षणमा बोलाइएका ३० मध्ये २९ खेलाडी क्यानको सम्पर्कमा आएका छन् । कप्तान सन्दीप लामिछाने भने बिग बास लिग खेलिरहेकाले अष्ट्रेलियामा छन् ।


