जनकपुरधाम : नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा संस्थापन पक्षका कृष्ण यादव विजयी भएका छन् । शेरबहादुर देउवा पक्षका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।
आज बिहान सार्वजनिक मत परिणाम अनुसार यादवले ९९६ मत पाएका छन् । उनका प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् । नेतृत्व चयनका लागि बिहीबार निर्वाचन भएको थियो ।
सभापति पदमा खसेको मतमध्ये ३० मत बदर भएको निर्वाचन समितिले जनाइएको छ । प्रदेश सभापतिमा निर्वाचित यादव नेपाली कांग्रेस रौतहटका सभापति हुन् भने रामसरोज कांग्रेस प्रदेश नं २ संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री हुन् ।
१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । ३० मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।
उपसभापतिलगायत अन्य पदको मतगणना भइरहेको र आज साँझसम्म अधिकांश पदको मतगणना सकिने निर्वाचन समिति संयोजक प्रह्लाद गौतमले जानकारी दिए । ६७ पदका लागि बिहीबार बिहान १० बजेदेखि राति ८ बजेसम्म भएको मतदानमा कुल एक हजार ९५१ मतदातामध्ये एक हजार ८८१ मत खसेको थियो ।
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।


