पुस अन्तिम सातादेखि कोभिड-१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारीमा सरकार

Spread the love

काठमाडौं : सरकारले यही पुस अन्तिम सातादेखि कोभिड–१९ विरुद्ध ‘बुस्टर डोज’ खोप दिने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पुष अन्तिमबाट बुस्टर खोप दिने तयारी गरिएको बताएका हुन ।

मन्त्री खतिवडाका अनुसार विश्व स्वास्थ्य संगठनको अनुमति लिएर कोभिड–१९ को पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर डोज दिन यसअघि नै मन्त्रिपरिषद्ले निर्णय गरिसकेको छ ।

बुस्टर डोज पहिलो चरणमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई लगाइने र क्रमशः वृद्धवृद्धा, बालबालिका हुँदै सबै नागरिकलाई लगाइने मन्त्री खतिवडाको भनाइ छ । ‘विश्व स्वास्थ्य संगठनले अनुमति दिएको खण्डमा बुस्टर डोजमा जान चाहन्छौँ,’ उनले भने, ‘सरकार यसमा सजग र तयारी हालतमा छ ।’

ओमिक्रोन भेरियन्टको लहर नेपालमा पनि देखा परेकाले जनशक्ति र अस्पताललाई तयारी अवस्थामा राखिएको मन्त्री खतिवडाले बताए । ‘ओमिक्रोन नामक नयाँ लहर आएको छ । अस्पताललाई आवश्यक जनशक्ति र तयारीमा रहन निर्देशन दिएको छ,’ उनले भने । हालसम्म नेपालमा तीन जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको छ । 

विज्ञहरूले दुई मात्रा खोपले ६ महिना वा एक वर्ष मात्र काम गर्ने भएकाले थप डोज दिनुपर्ने बताउँदै आएका छन् । पूर्ण मात्रा खोप लगाएपछि समयक्रममा शरीरमा एन्टिबडी घट्दै जाने भएकाले फेरि एन्टिबडी बढाउन बुस्टर डोज दिइने बताउँछन्, भाइरोलोजिस्ट डा. शेरबहादुर पुन । ‘शरीरमा एन्टिबडी घट्दा फेरि संक्रमणले आक्रमण गर्न सक्छ । त्यसलाई रोक्न बुस्टर डोज दिइने हो,’ उनले भने । 

हाल लगाइरहेका खोपमा जोन्सन एण्ड जोन्सनलाई पहिलो मात्रा नै पूर्ण मानिएको छ भने अन्य खोपलाई दोस्रो मात्रा मानिएको छ । त्यसैले पहिलो मात्रा पूर्ण मानिएकालाई दोस्रो मात्र लगाउनुपर्ने र दोस्रो मात्रा पूर्ण मानिएकालाई तेस्रो मात्रा लगाउनुपर्ने हुन्छ । नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन, अस्ट्राजेनेका,मोडर्ना र फाइजर खोप लगाइएको छ ।

विश्व स्वास्थ्य संगठनले कुल खोप लगाउने जनसंख्याको ५० प्रतिशतलाई पूर्ण खोप लगाइसकेपछि बुस्टर डोज सुरु गर्न सुझाव दिएको छ । नेपालमा पुस ७ गतेसम्म ४.१ प्रतिशतले पूर्ण डोज र ६.५ प्रतिशतले एक डोज खोप लगाएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।