काठमाडौं :
नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । कांग्रेसको १४ औं महाधिवेशन भृकुटीमण्डपमा आज दिउँसो १ बजे उदघाटन हुन लागेको हो ।
महाधिवेशन उद्घाटनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेसले जनाएको छ। काठमाडौंको भृकुटीमण्डपलाई कांग्रेसको चारतारे झण्डा र चुनाव चिह्न रुख अंकित झण्डाले सजाइएको छ । मञ्चमा एक सय बढी अटाउने गरी व्यवस्थापन गरिएको छ । उदघाटन समारोहमा सहभागी हुनेहरुका लागि मञ्चको सामुन्ने कुर्सीहरु राखिएको छ ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ। उद्घाटन समारोहमा कांग्रेसका शीर्षनेतासँगै विभिन्न दलका प्रमुख तथा विदेशबाट आएका अतिथिले सम्बोधन गर्ने पार्टी कार्यालयका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिएका छन्।

उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा तयार गरिएको छ। कोभिड- १९ महामारीका कारण काठमाडौं उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस्फूर्तरूपमा आउने सहभागी मात्र उद्घाटनमा रहने उनले बताए।
भृकुटीमण्डप अगाडिको सडक प्रदर्शनीमार्गमा समारोह प्रत्यक्ष हेर्न मिल्ने डिजिटल डिस्प्ले राखिएको छ । प्रदर्शनीमार्गमा सवारी साधनहरुलाई प्रवेश निषेध गरेर पैदलयात्रुहरुका लागि मात्र खुल्ला गरिएको छ । कांग्रेसको प्रचार समितिले काठमाडौंका बिभिन्न स्थानमा स्वागतद्वार निर्माण गरेको छ ।

महाधिवेशनस्थलमा पार्टीका झण्डा र चुनाव चिह्न रूख अङ्कित झण्डाले सिङ्गारिएको छ भने त्यस वरपर विभिन्न स्थानमा स्वागतद्वार राखिएको छ। महाधिवेशनका उम्मेदवारका ब्यानरले भृकुटीमण्डप भरिभराउ छ। यस महाधिवेशनमा ४ हजार ७०० महाधिवेशन प्रतिनिधि रहने छन्।
महाधिवेशनमा नेपाल प्रहरीले सुरक्षाको आवश्यक प्रबन्ध गरेको र ट्राफिक प्रहरीले सवारी साधनको उचित व्यवस्थापनको प्रबन्ध मिलाएको जनाइएको छ ।
कांग्रेसको १४ औं महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं उपत्यकामा पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ । महाधिवेशनको उदघाटन समारोहस्थल भृकुटीमण्डप क्षेत्रमा तीन घेरा बनाएर सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले महाधिवेशनलाई केन्द्रित गरी काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा थप मद्दतसहिको आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए ।


