राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुपर्छ: प्रधानमन्त्री

Spread the love

काठमाडौं, मङ्सिर १५ (ई-रैवार) 

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय हितका पक्षमा सबै दलहरू मिलेर अगाडि जानुपर्ने बताएका छन्।

आज काठमाडौंमा राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय मुद्दाका विषयमा आगामी दिनमा पनि सबै दल एक भएर अगाडि जानुपर्ने बताएका हुन।

प्रधानमन्त्री देउवाले भने- ‘राष्ट्रिय हितका मुद्दामा सबै दल मिलेर अगाडि बढ्नुको विकल्प नै छैन ।’ प्रधानमन्त्री देउवाले महाधिवेशनको पूर्ण सफलताको शुभकामना पनि दिएका छन्।

त्यस्तै राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई झटारो हानेका छन् । प्रचण्डले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको तर महाधिवेशन गर्दा भने एकताको महाधिवेशन भनेको भन्दै कटाक्ष गरेका हुन् । 

उनले साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै बधाई तथा शुभकामना दिए ।  प्रचण्डले भने, ‘तपाईँहरुले जे गर्नुभयो यो महाधिवेशनको नाम पनि त्यही राख्नुभयो । तपाईँहरू तीनवटा मिल्नुभयो र महाधिवेशनको नाम एकता महाधिवेशन राख्नुभयो ।’

प्रचण्डले अगाडि भने, ‘तर, नेपाल पार्टी फुटाएर तीन टुक्रा पार्ने अनि एकता महाधिवेशन भन्ने पनि भर्खरै हामीले देखेका छौँ । त्यस्तो झूटो कुराचाहिँ तपाईँहरुले गर्नुभएन । पार्टी फुटाउने अनि नाम एकताको राख्ने ? तपाईँहरुले ठीक गर्नुभयो ।’

प्रचण्डले राप्रपा र आफ्नो पार्टीको विचार तथा मत नमिल्ने भएपनि राष्ट्रिय भावना र स्वाधीनताप्रतिको निष्ठा एउटै रहेको बताएका छन् । राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै प्रचण्डले आफू अघि बोल्ने मालेका महासचिव सीपी मैनालीप्रति कटाक्ष गर्न पनि भ्याए ।

भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने राजनीतिक दलहरू सकिने बताएका छन् ।

समाजवादीका अध्यक्ष नेपालले नेपाली राजनीतिमा तीनवटा ब्राण्ड रहेको भन्दै बाह्य हस्तक्षेपलाई हटाएर देशभक्त र राष्ट्रियताको एजेण्डा बलियो बनाउन नसक्ने दलहरू सकिने बताएका हुन् ।

आफूहरु परिवर्तनकामी रहेको भन्दै उनले हरेक क्रान्ति आन्तरिक कारण रहने गरेको बताए । राज्यका विभिन्न अंगमा विदेशीले हात हाल्न खोजिरहेको भन्दै पूर्वप्रधानमन्त्री नेता नेपालले जनताको चाहना र भावनालाई कदर गर्दै राष्ट्रियताप्रति गम्भीर हुनुपर्नेमा जोड दिए ।

राप्रपाको महाधिवेशनमा अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा मालेका महासचिव सीपी मैनालीले राजा महेन्द्रको खुलेर प्रशंसा गरेका छन् । राप्रपाको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले राजा महेन्द्र ‘राष्ट्रवादी’ रहेको बताए का हुन।

उनले नेपालको राजनीतिक इतिहासमा भएका चार वटा राजनीतिक परिवर्तनमध्ये राजा महेन्द्रले गरेको परिवर्तन बाहेक अरु सबै परिवर्तन बाह्य हस्तक्षेपको अवाञ्छित परिणाम रहेको दाबी गरे । उनले भने, ‘हामीमाथि थोपरिएका बाह्य प्रभाव र हस्तक्षेपलाई हामीले अनदेखा गर्यौं ।’