प्रदेश १ मा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिंदै, विपक्षी गठबन्धन वहुमतमा

Spread the love

विराटनगर, कात्तिक १५ (ई-रैवार)

आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दैछ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिदैछन् ।

मुख्यमन्त्री आचार्यले यसअघिकै बैठकमा टेबुल गरेको विश्वासका मत सम्बन्धी प्रस्तावमा मत विभाजन हुने कार्यसूची रहेको छ । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने लागिएको हो।

कात्तिक ७ गतेको लागि तोकिएको बैठकमा मत विभाजन हुने तय भएको थियो । तर, नेपाली कांग्रेस र एमालेले निवेदन दर्ता गराई बैठक सार्न माग गरेपछि आजको लागि बैठक सारिएको थियो ।

प्रदेश सभा सचिवालयका सचिव गोपाल प्रसाद पराजुलीले सोमबारको बैठकको कार्यसूची पहिल्यै तय भएकाले कार्यव्यवस्थाको बैठक बसिरहन नपर्ने जानकारी दिए । पराजुलीले भने, “साढे १२ बजे बस्ने बैठकको कार्यसूची यसअघि नै तय भइसकेको हो ।”

अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले गठबन्धन एक ढिक्का भए विश्वासको मत पाउदैनन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै छन् ।

गठबन्धनमा रहेको कांग्रेससँग २१, माओवादी केन्द्रसँग १५, नेकपा एकीकृत समाजवादीसँग १०, जसपासँग ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग एक जना सांसद छन् । एक जना सांसद रहेको राप्रपा दुवै पक्षमा खुलेको छैन ।

मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले गठबन्धनले राजेन्द्र राईलाई  मुख्यमन्त्रीको रुपमा अघि सार्ने आइतबार नै निर्णय गरिसकेको छ ।

आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएको अवस्थामा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् । आहृवानपछि गठबन्धनले राईको नाम अघि सार्ने निर्णय गरेको थियो ।

नयाँ सरकार गठनका लागि दाबी गर्न आजै ५० जना सांसदको हस्ताक्षर संकलन गर्ने गठबन्धनको तयारी छ । नेकपा एसका नेता राईले संविधानको धारा १६८(२) अनुसार सरकारमा दाबी गर्न गठबन्धनका सांसदको हस्ताक्षर संकलन गरिने बताए ।

गठबन्धनले आचार्यको विपक्षमा मतदान गर्ने र मुख्यमन्त्रीको रुपमा राईलाई अघि सार्ने निर्णय गरे पनि सरकारमा सहभागिता र मन्त्रालय भागबण्डाका विषयमा छलफल गरेको छैन । नयाँ सरकार गठनको प्रकृया सुरु भएपछि मन्त्रालय बाडफाडका विषयमा छलफल हुने नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।