काठमाडौँ, कात्तिक ९ (ई-रैवार)
सर्वोच्च अदालतका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई भेट्ने भएका छन् । सर्वोच्च अदालतको पूर्ण बैठक बहिस्कार गरेका १३ जना न्यायाधीशले प्रधानन्यायाधीश जबरालाई आज ११ बजे भेट्न लागेका हुन।
सर्वोच्च अदालतभित्र देखिएका विचलनमा प्रधानन्यायाधीश राणा प्रमुख कारण रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरूले न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् ।
सर्वोच्च अदालतका न्यायाधीशहरूले नै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा समेत माग्ने निर्णय गरेका छन् । ‘उहाँहरूको सोमबारको छलफलले स्पष्ट रुपमा राजीनामा माग्ने निर्णय गरिसकेको हो’ सर्वोच्च अदालत उच्च स्रोतले भन्यो, ‘तपाईंबाट अब न्यायपालिकाको नेतृत्व सम्भव हुने देखिएन । नेतृत्वमै रहे पनि न्यायपालिकाको गरिमा, निष्पक्षता र मर्यादामा आँच आउँछ । निकास दिनुस् भनेर राजीनामा माग्ने निर्णय भइसकेको रहेछ ।’ न्यायाधीशहरूले आपसी सल्लाहमै भेटघाटको एजेण्डा गोप्य राख्ने र सञ्चारमाध्यममा नबोल्ने तय गरेका थिए ।
न्यायालयमा प्रधानन्यायाधीशका कारण बेथिति बढेको तथा कार्यपालिकामा समेत प्रधानन्यायाधीश जबराले भाग खोजेको भन्दै असन्तुष्टि जनाएका १३ न्यायाधीशले सोमबारको पूर्ण बैठक बहिष्कार गरेका थिए । अदालतभित्रको लफडाका कारण सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास समेत बस्न सकेको थिएन । सोही विषयलाई लिएर न्यायाधीशहरू र प्रधानन्यायाधीशबीच छलफल हुन लागेको बुझिएको छ ।
सत्ता गठबन्धनमा भाग खोजेको भन्दै चर्को आलोचना खेप्दै आएका प्रधानन्यायाधीश जबरामाथि राजीनामाको चर्को दबाब छ । पूर्वन्यायाधीश फोरम, चार पूर्वप्रधानन्यायाधीश, सर्वोच्च बार एसोसिएसन लगायतले जबरालाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुझाव दिदै आएका छन् ।


