काठमाडौं, कार्तिक ८ (ई-रैवार)
आज पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली रहने भएको हो ।
आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । मौसमविद् सजना शाक्यका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको शाक्यले जानकारी दिइन् ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । गण्डकी, वाग्मती र प्रदेश १ का एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, वाग्मती प्रदेश तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शाक्यको भनाइ छ ।
वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हिमपातको सम्भावना रहेकोले कृषिजन्य कार्य र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन मौसमविद् शाक्यको आग्रह छ ।


