सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जनाअझै बेपत्ता

Spread the love

धनगढी,कार्तिक ७ (ई-रैवार)

सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ। गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म सुदूरपश्चिम प्रदेशमा ३५ जनाको मृत्यु भएको हो।

बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। बझाङमा १०, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र  कैलालीमा एक/एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

विपद्मा परी यस प्रदेशमा अझै २३ जना बेपत्ता छन्। बेपत्ता हुनेमा बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक/एक छन्। यस्तै विपद्मा परी १७ जना घाइते छन्। डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा  एकरएक जना घाइते भएका हुन्।

विपद्मा परी बाजुरा, डोटी, डडेल्धुरा, बझाङ, जिल्लामा गरी १०० बढी पशु चौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन्। पहिराका कारण बझाङमा १२, डोटीमा छ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्णरूपमा क्षति पुगेको छ।

बाढीका कारण यहाँका २१६ घरधुरी डुबानमा परेकामा ४३० जनाको नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार गरेको जनाइएको छ।