सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने

Spread the love

डडेल्धुरा, असोज २८  (ई-रैवार) 

डडेल्धुराको उग्रतारा मन्दिरमा आज अष्टमी मेला लाग्ने भएको छ। सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध उग्रतारा भगवती मन्दिरमा बिहीबार अष्टमी मेला लाग्ने भएको हो।

नेपाली पात्रो अनुसार बुधबार महाअष्टमी परे पनि उग्रतारामा भने आज मात्रै अष्टमी मनाइने भएको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताएका हुन।

अष्टमीका दिन उग्रतारमा राँगा र बोकाको बली दिइ पूजाआजा गरिन्छ । घटस्थापनादेखि गन्तिका हिसाबले आठौँ दिनमा अष्टमी मनाइने प्रचलन रहिआएकाले आज मात्रै अष्टमी मनाइने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष साँकीले बताए हुन।

डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को महकाली राजमार्गसँगै डाँडामा अवस्थित शक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौँ दर्शनार्थीहरू पूजा आराधना गर्न पुग्छन्।

उग्रतारा भगवतीलाई वली चढाउने भाकल गरेकाहरु राँगा बाेका कुखुरा लगायतका पशुपंक्षी लिएर मन्दिर पुगेका छन् भने भगवतीकाे दर्शन पूजाअराधना गर्ने तथा मेलामा व्यपार ब्यवसाय गर्नेहरुकाे आज बिहानैदेखि घुइँचो लागेको छ ।

मेलामा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्ला तथा अन्य स्थान लगायत भारतका विभिन्न स्थानहरुबाट श्रद्धालु भक्तजनहरु मेला भर्न आउने गर्दछन । विशेषगरी दशैको अवसर पारेर घरतिर आएका भक्तजन एवं धार्मिक आस्थावान चिताएको मनोकामना पुर्ण हुने विश्वासले उग्रतारामन्दिर पुग्ने गरेका छन ।