जंगली जनावरलाई थालेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु

जंगली जनावरलाई थालेको पासोमा परी एकै परिवारका ३ जनाको मृत्यु
Spread the love

बर्दिया, असोज २ (ई-रैवार) 

जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बर्दियामा गएराति धान खेतमा  बँदेल लगायतको जंगली  जनावर धपाउन बिछाएको विद्युतीय धरापमा  (पासो) परि एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीले बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका-३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जानकारी दिएका छन् ।

‘हामीलाई राती १ बजेतिर मात्रै थाह भएको हो’ , प्रहरी उपरीक्षक कार्कीले भने, ‘धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाहीलाई हामीले  नियन्त्रणमा लिएका छौं ।’ घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक कविराज रोकायले बताए ।

स्थानीयका अनुसार धानबालीमा जंगली हात्ती, बँदेललगायतका वन्यजन्तुले क्षति पु¥याउन थालेकाले करेन्ट प्रवाह गर्दा करेन्ट लागेर यसअघि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो ।