काठमाण्डौँ, भदौ ९ (ई-रैवार)
नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरिसकेका छन्। पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि निर्वाचन आयोग पुगेर सनाखत गरिसकेका हुन्।
नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निवेदन दिएका थिए । यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सो निवेदनपछि दल दर्ताको प्रमाणपत्र दिन आयोगले आज सनाखत गर्न नेताहरुलाई बोलाएको थियो ।
माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ३० सांसद र ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्। नेकपा एमाले विभाजन भएर बनेको नयाँ पार्टी दर्ताका लागि नेता झलनाथ खनालले भारतको नयाँदिल्लीबाटै सनाखत गरेका छन्।
नेता नेपाल पक्षीय अरू नेताहरू निर्वाचन आयोग पुगेर सनाखत गरे पनि नयाँदिल्लीमा उपचार गराइरहेका खनालले उतैबाट सनाखत गरेका हुन्।
यस्तै जनता समाजवादी पार्टीबाट छुट्टिएर नयाँ पार्टी दर्ता गर्न संघीय संसदका १४ जना सांसदले निर्वाचन आयोगमा सनाखत गरेका छन्।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) दर्ताका लागि बुधबार आयोगमा प्रतिनिधि र राष्ट्रिय सभाका १४ सांसदले सनाखत गरेको नेता केशव झाले जानकारी दिए।
जसपाका प्रतिनिधि सभामा ३४ र राष्ट्रिय सभामा तीन जना सांसद छन्। तीमध्ये दुई जना निलम्बनमा परेका छन्। निलम्बनमा परेका सांसद रेशम चौधरीले डिल्लीबजार कारागारबाट मञ्जुरीनामा दिएको झाले बताए। चौधरीसहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ पार्टी दर्ताका लागि सनाखत गरेको झाले जानकारी दिए।
सरकारले दल विभाजनका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा संसदीय दलका सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएपछि माधव नेपाल समूह एमाले छाडेर नयाँ पार्टी दर्ता गर्न गएको थियो ।
नेकपा (एकीकृत समाजवादी) का ५५ केन्द्रीय सदस्यको सूचीको सूची




नेकपा (एकीकृत समाजवादी) का २९ सांसदको सूचीको सूची


लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने १४ सांसदको सूची
महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह


