काठमाडौँ, भदौ १ (ई-रैवार)
नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चापछि अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक डाकेका हुन् ।
एमालेका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले स्थायी कमिटीको बैठक आज बिहान ११ बजे च्यासलस्थित तुल्सिलाल भवनमा बस्ने जानकारी दिएका छन् ।
सोमबार बेलुकी स्थायी कमिटीका नेताहरु ओली निवास बालकोट पुगेका थिए । संघीय संसदको दुबै अधिवेशन अन्त्य गरेको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चापछि नेकपा एमालेमा तरंगित बनेको छ ।
त्यस्तै एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार संसदीय दलको बैठक दिउँसो २ बजे संसद्को ल्होत्से हलमा बस्ने छ । तामाङका अनुसार बैठकमा समसामयिक विषयमा छलफल हुनेछ ।
सोमबार राति अध्यक्ष ओलीले वक्तव्य जारी गर्दै पार्टी विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याएर एमाले विभाजन गर्न खोजेको ओलीको आरोप छ । एमाले विभाजन सह्य नहुने भन्दै त्यसविरुद्ध लाग्न उनले अपिल पनि गरेका छन् ।
२०७७ फागुन २३ मा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि ०७५ जेठ २ अघिको अवस्थाबाट पार्टी अघि बढाउनु पर्ने मागसहित एमालेको नेपाल(खनाल पक्ष संघर्षरत छ ।
तर, आफ्नै पार्टीको सरकार ढालेर देउवालाई प्रधानमन्त्री बनाउँदा पनि कार्यदलमा भएको १० बुँदे सहमतिबमोजिम पार्टीका बैठक अघि बढाएको भन्दै नेपालसँग ओली सकारात्मक छैनन् ।
एमाले विवाद ‘वारपार’ नहुँदा माधव नेपाल पक्षलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको चाहाना पूरा हुन सकेको छैन ।
नेपाल पक्ष सरकारमा सहभागी हुन चाहे पनि मौजुदा कानुनी व्यवस्था बाधक भएको भन्दै सरकारमा जान सकिरहेको छैन । तर, दल विभाजनसम्बन्धी सहज व्यवस्थासहितको अध्यादेश आए नेपाल पक्ष नयाँ दल खोलेर सरकारमा जान तयार भएपछि देउवाले अध्यादेश ल्याउन लागेको चर्चा चुलिएको छ ।


