काठमाडौँ, साउन ३१ (ई-रैवार)
हाइटीमा ७.२ रेक्टर स्केलको भूकम्प जाँदा कम्तीमा ३ सय ४ जनाको मृत्यु भएको छ । भूकम्पमा परी १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
शनिबार बिहान हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर नजिकै केन्द्रविन्दू भएर भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले पुष्टि गरेको छ । भूकम्पका कारण त्यहाँको पश्चिम क्षेत्रका धेरै संरचना, होटल तथा चर्चहरुमा क्षति भएको छ ।
त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले भूकम्पबाट व्यापक क्षति पुगेको भन्दै एक महिने आपतकाल घोषणा गरेका छन् । भूकम्पबाट मानिसहरुका घर, चर्च, होटेल लगायतका संरचनाहरु भत्किएका छन् ।
स्थानीय समय अनुसार शनिबार बिहान हाइटीमा ७।२ म्याग्निच्युटको भूकम्प गएको थियो । यसको इपिसेन्टर सेन्ट(लुइस दुसुद भन्ने स्थानभन्दा १२ किलोमिटर टाढा रहेको अमेरिकन जिओलोजिकल सर्भेले जनाएको छ । भूकम्पको धक्का करिब १२५ किलोमिटर टाढा रहेको राजधानी पोर्ट ओ प्रिन्समा र छिमेकी देशहरुमा पनि महसुस गरिएको थियो ।
सन् २०१० मा गएको विनाशकारी भूकम्पबाट तंग्रिदै गएको बेला हाइटी फेरि अर्को भूकम्पको मारमा परेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले भूकम्पबाट प्रभावित हाइटीमा तत्काल राहत सहयोग गर्न यूएसआइडीलाई भनेका छन् ।


