माओवादी केन्द्रको बैठक बस्दै, मन्त्री हुनेको नाम टुंग्याउने तयारी

माओवादी केन्द्रको बैठक बस्दै, मन्त्री हुनेको नाम टुंग्याउने तयारी
Spread the love

काठमाडौँ, साउन १८ (ई-रैवार) 

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । सोमबार दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रले आज बैठकबाट पार्टीका तर्फबाट मन्त्री हुनेको नाम टुंग्याउने तयारी गरेको स्थायी कमिटी सदस्य देव गुरुङ​ले जानकारी दिए । उनका अनुसार समावेशी आधारमा भूगोलसमेत मिलाएर भरसक  नयाँ अनुहारलाई सरकारमा पठाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा माओवादीका तर्फबाट  अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल मात्र सहभागी छन् । माओवादीले पाउने भनिएको ७ मन्त्रालयमध्ये बाँकी पाँच मन्त्रालय टुंगिन बाँकी छ ।

माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।

एमालेका माधव कुमार नेपाल समूहको अलमलले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको नेताहरुले बताउँदै आएका छन् । पार्टी एकताकै लागि प्रयास भइरहेकाले नेपाल समूह सरकारमा जान अनिच्छुक देखिएको छ । तर गठबन्धनका नेताहरुले संसद जोगाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै नेपाल समूहलाई सरकारमा आउन दबाब दिइरहेका छन् ।

काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

प्रधानमन्त्री देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।

यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।