प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड बिच भेटवार्ता, असंवैधानिक नियुक्ति खारेज गर्ने सहमति

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्ड बिच भेटवार्ता, असंवैधानिक नियुक्ति खारेज गर्ने सहमति
Spread the love

काठमाडौं, साउन ५ (ई–रैवार) 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । आज बिहान नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालसित भेट गरी प्रचण्ड बालुवाटार गएका हुन् ।

प्रचण्ड नेपाललाई भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार प्रचण्डले आधा घण्टाभन्दा बढी नेपालसँग भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्री देउवाले संसद्मा विश्वासको मत पाएसँगै सरकारमा विभिन्न दलको सहभागिता, मन्त्रालय बाँडफाँडलगायत विषय चर्चामा छ । उनीहरुबीच साझा कार्यक्रम बनाएर सरकार सञ्चालन गर्नेबारेमा छलफल भएको छ ।

‘सरकार प्रभावकारी ढंगले सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री र अध्यक्षबीच छलफल भएको हो’, अध्यक्ष प्रचण्ड निकट स्रोतले भन्यो, ‘सहमतिका आधारमा चल्नुपर्छ भन्नेमा दुवै नेता सकारात्मक हुनुभएको बुझिएको छ ।’

मंगलबार बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भएको छलफलमा ओली नेतृत्वको सरकारले गरेको सवै असंवैधानिक ढंगले गरेका नियुक्तिहरु खारेज गर्ने सहमति भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

यसअघि आजै बिहान अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष उपेन्द्र यादव एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटेर सरकार सञ्चालनका बारेमा छलफल भएको थियो । उक्त भेटमा समेत नेताहरुबीच ओली नेतृत्वको सरकारले गरेका असंवैधानिक नियुक्तिहरु खारेज गर्नुपर्ने विषयमा छलफल भएको थियो ।

ओली नेतृत्वको सरकारले पछिल्लो समय झण्डै ३ दर्जन नियुक्तिहरु असंवैधानिक ढंगले गरेको थियो ।