देउवालाई विश्वासको मत दिने माओवादी संसदीय दलको निर्णय, देउवाको पक्षमा १५० जना सांसद पुग्छन् : यादव

Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार)

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । सिंहदरबारमा बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले एकमतले देउवालाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लिन लागेको विश्वासको मतका बारेमा छलफलमा देउवालाई विश्वासको मत दिने निर्णय गरेको माओवादी केन्द्रका सांसद रामेश्वर राय यादवले जानकारी दिए । ‘बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई एकमतले विश्वासको मत दिने निर्णय गरेको छ’, यादवको भनाइ छ ।

बैठकमा माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा ब्रिफिङ गरेका थिए । माओवादी केन्द्रका सांसद मातृका यादवले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा १५० जना सासंदले विश्वासको मत दिने दाबी गरेका छन् ।

देउवाको पक्षमा सर्वोच्च अदालतमा हस्ताक्षर गरेका सबै र अरु केही सांसद थपिने उनले दाबी गरेका हुन । आज बसेको माओवादी केन्द्र संसदीय दलको बैठकपछि नेता यादवले सबै मिलेर मुलुकका समस्या समाधानमा केन्द्रित हुनुपर्ने बताए । उनले विश्वासको मत दिएपछि सरकारमा शक्ति बाँडफाँडका बारेमा थप छलफल गरिने पनि बताए ।

प्रतिनिधिसभाको आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले ल्याएको अध्यादेशहरू टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने निर्णय भएको छ ।

यस्तै दोस्रो बैठकमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका काँग्रेस सभापति शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यसूची तय भएको छ । फागुन २८ को सर्वोच्च अदालतको फैसलापछि संसद्को पहिलो बैठक आइतबार ४ बजे बस्दैछ । पहिलो बैठक बसेर स्थगित भएको केहीबेरमा अर्को बैठक बस्नेछ । सोही बैठकमा विश्वासको मतका लागि मतदान हुनेछ ।