निर्वाचन आयोगको इजलास बस्दै : जसपा आधिकारिता विवादको सुनुवाइ आज

Spread the love

काठमाडौँ,साउन ३ (ई–रैवार) 

जनता समाजवादी पार्टी (जसपा) आधिकारिता विवादको सुनुवाइ आज हुदैछ । जसपाको आधिकारिता विवादको टुंगोमा पुग्न निर्वाचन आयोगले गठन गरेको इजलास आज बस्ने भएको हो।

जसपाको आधिकारिता कुन पक्षले पाउने भन्ने विषयमा टुंगो गर्न निर्वाचन आयोगले गठन गरेको इजलास आईतबार बस्ने तय भएको थियो । अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवका पक्षमा विभाजित जसपाको आधिकारिता कसले पाउने भन्ने विवाद छ ।

आयोगले गठन गरेको इजलास बिहान ११ बजे बस्ने छ । पक्ष विपक्षको बहस सकिएपछि आयोगले आधिकारिकता सम्बन्धी विवादमा निर्णय गर्ने छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो चल्छ भन्ने कुरामा भर पर्छ ।’

जसपाको आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो । यो इजलासले जसपाको नाम र निर्वाचन चिह्न कुन पक्षले पाउने भन्ने निर्णय लिने छ । त्यसैले आयोगले लिने निर्णयलाई चासोका साथ हेरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले यसअघि नै इजलास गठन भएको १५ दिनभित्रै यसको छिनोफानो गर्ने बताएकाले आजै टुंगो लाग्ने सम्भावना पनि छ ।

जसपाको उपेन्द्र-बाबुराम र महन्थ-राजेन्द्र पक्ष दुवैले आफूहरु आधिकारिक भएको दाबी गर्दै आएका छन् । आयोगलाई आफ्नो बहुमत रहेको देखाउन आइतबार सशरीर निर्वाचन आयोगमा उपस्थित हुने उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षका एक नेताले जानकारी दिए ।

दुई अध्यक्ष ठाकुर र यादव पक्षबीचको विवादले जसपा विभाजन भइसकेको छ । तर जसपा नाम र यसको चुनाव चिह्न कुन पक्षले पाउने भन्ने विषयमा आयोगको इजलासले निर्णय गर्ने भएको हो । यसबीच ठाकुर पक्षका केही सांसद यादव पक्षले राखेको संसदीय दलको बैठकमा सहभागी भएका छन् ।

ओलीसँग कुरा नमिलेपछि जसपा फुटेको हो। जसपाको ठाकुर पक्ष यसअघि ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो भने उपेन्द्र-बाबुराम पक्ष विपक्षी गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारमा सहभागी हुने तयारीमा समेत छ ।