पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना, शनिबारबाट मनसुन थप सक्रिय हुने

पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना, शनिबारबाट मनसुन थप सक्रिय हुने
Spread the love

काठमाडौं, असार ३१ (ई–रैवार)

पाँचवटा प्रदेशमा आज भारी वर्षाको सम्भावना रहेको छ । हाल देशभर सामान्य बदली रही प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

यसैबीच, शनिबारबाट मनसुन थप सक्रिय हुने भएको छ । लुम्बिनी, गण्डकी, सुदूरपश्चिम तथा प्रदेश १ मा शनिबारबाट थप मनसुन सक्रिय हुने मौसमविद् सापकोटा बताउँछन् ।

“शनिबारबाट लुम्बिनी, गण्डकी सुदूरपश्चिम तथा प्रदेश १ मा मनसुन थप सक्रिय हुँदा भारी वर्षा हुनेछ । तर, वाग्मती प्रदेशमा भने मंगलबारसम्म अहिले भइरहेजस्तै सामान्य वर्षाको सम्भावना रहेको देखिन्छ,” मौसमविद् सापकोटा भन्छन् ।