काठमाडौं, असार २८ (ई–रैवार)
अमेरिकाले उपलब्ध गराएको एक डोज मात्र लगाए हुने जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप काठमाडौं आइपुगेको छ । सोमबार कतार एयरवेजको नियमित उडानमार्फत् अमेरिकाले पठाएको खोप नेपाल आइपुगेको हो।
त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण हुन ।
अमेरिकाले जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको १५ लाख ३४ हजार ८५० डोज खोप नेपाललाई उपलब्ध गराएको हो ।
अमेरिकी सरकारले उपहार स्वरुप दिएको खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदान सावित हुने मन्त्री श्रेष्ठले बताए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा ५० देखि ५४ वर्षको उमेर समूहका नागरिकलाई लगाउने तयारी रहेको भन्दै उनले छिट्टै खोप अभियान चलाउने जानकारी दिए ।
अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास डोज कोभीड-१९ भ्याक्सीन काठमाडौं आइपुगेको जानकारी दिएका छन्।
झन्डै ७५ बर्ष लामो न्यानो नेपाल-अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम हुने उनले अपेक्षा गरेका छन् ।


