प्रधानमन्त्री ओली भने- अब जिल्ला-जिल्लामा कोरोना खोप अभियान चलाइन्छ

Spread the love

काठमाडौँ, असार १९ (ई–रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले अब जिल्ला जिल्लामा कोभिडविरूद्ध भ्याक्सिन अभियान नै चलाउने बताएका छन् । त्रिशुली-३ बीको प्रसारण लाइन र सबस्टेसनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब जिल्ला जिल्लामा कोभिडविरूद्ध भ्याक्सिनको अभियान नै चलाउने बताएका हुन ।

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै प्रधानमन्त्री ओलीले अब खोप लगाउने अभियान नै चल्ने दावी गरेका हुन् । उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए ।

‘अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।’ ओलीलेले अघि भने, ‘बीचमा हामीलाई भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं ।’ ‘भोलिपर्सीदेखि नै खोपको क्याम्पेन सुरू हुन्छ,’ ओलीले भने।

उनले एक/दुई दिन, सात दिन वा पन्ध्र दिनभित्रै खोप लगाइसक्न सम्भव नरहेकाले समूह/समूह तोकेर कहाँनेर बढी प्रभाव छ त्यहाँ अभियान चलाइने बताए।

‘एकै दिन, दुई दिन, सात दिन पन्ध्र दिनभित्र सकिँदैन। समूह तोकेर कहाँनेर बढी छ त्यहाँबाट सुरू गरेर सम्पूर्ण जनसंख्यालाई छोटो अवधिमा खोप उपलब्ध गराउँछौं,’ ओलीले भने।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए । उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताएका छन् ।

सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।