काठमाडौं, असार १३ (ई-रैवार)
नेकपा (एमाले) को स्थायी कमिटीको बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । एमालेको आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो ।
एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाएका हुन् ।
नेकपा (एमाले) का प्रवक्ता ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताएका छन् ।
आजको बैठकमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूपक्षीय गठित कमिटीको बैठक बोलाएका हुन् ।
यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । तर ओलीले सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाएका हुन् ।


