काठमाडौँ, जेठ २४ (ई-रैवार)
विपक्षी गठबन्धनका प्रमुख तिन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव नेपालबीच छलफल जारी रहेको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता नेपालले बुढानिलकण्ठस्थित निवासमा पुगेर नेपाली कांग्रेसका सभापति देउवासँग भेटवार्ता गरेका छन्। सोमबार अपरान्ह प्रचण्ड र नेपाल देउवा भेट्न पुगेका हुन्। उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले बताएको छ।
उनीहरुबीच प्रदेश–२ को मन्त्रिपरिषद् पुनर्गठन र प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि गरेको ६ बुँदे आव्हानबारे छलफल भइरहेको बूढानीलकण्ठ स्रोतले जानकारी दिएको छ ।
ओलीले पार्टी एकताका लागि देउवालाई प्रधानमन्त्री बनाउन मागसहित रिटमा प्रयोग भएको नेपाल समूहका सांसदको हस्ताक्षर फिर्ता लिने प्रस्ताव अघि सारेपछि उत्पन्न आशंका मेट्न गठबन्धनका नेताहरु छलफलमा जुटेको हुन ।
देउवाले नेपाललाई पनि छलफलका लागि बोलाएपछि नेपाल पनि आफू पक्षीय स्थायी समिति बैठक सकेर देउवा निवास पुगेको स्रोतले बतायो । आफ्नो समूहको स्थायी कमिटी बैठकमा हस्ताक्षर फिर्ता निर्णय लिएका नेपाल देउवाको आशंका मेटाउन बूढानीलकण्ठ पुगेको बताइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई नेपाल पक्षका सांसदले दिएको हस्ताक्षर फिर्ता लिए २०७५ जेठ २ को अवस्थामा पार्टी संरचना अगाडि बढाउन तयार रहेको उल्लेख छ।
ओलीले हस्ताक्षर फिर्ता गर्न भनेको अवस्थामा नेपाल पक्षका स्थायी कमिटी सदस्यहरूले भर्चुअल माध्यमबाट छलफल गरेका थिए। उनीहरूले लिखित जवाफ नै दिने बताएका छन्।
देउवासँग यी समग्र विषयबारे प्रचण्ड र नेपालले कुराकानी गरेको स्रोतको भनाइ छ। अहिले पनि उनीहरूबीच कुराकानी भइरहेको छ ।
प्रचण्ड र देउवाबीच आज दिउसोदेखी छलफल जारी रहेको थियो । आज विहान प्रचण्ड र नेपालबीच पनि भेटवार्ता भएको थियो । प्रचण्डसँगको भेटमा नेपालले हस्ताक्षर फिर्ता नहुने प्रतिबद्धता जनाएका छन् ।


