जसपा अध्यक्ष उपेन्द्र यादव पनि पार्टीबाट निष्कासित

Spread the love

काठमाडौँ, जेठ १८ (ई-रैवार)

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ठाकुर पक्षले पनि पार्टीबाट निष्कासन गरेको छ । जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष यादवलाई बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।

बैठकले यादवलाई पार्टीबाट साधारण सदस्यसमेत नरहनेगरी निष्कासन गरेको नेता लक्ष्मणलाल कर्णले जानकारी दिए । अध्यक्ष यादवले पार्टीका चारजनालाई गरेको कारवाही पार्टीको विधान विपरित रहेको पनि बैठकले ठहर गरेको कर्णले बताए । कारवाहीबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइएको छ ।

अध्यक्ष उपेन्द्र यादव पक्षबाट ठाकुरसहित चार नेतालाई निष्कासनको निर्णय केही घण्टा अगाडि गरेका थिए । ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणकर्ण र सर्वेन्द्रनाथ शुक्ललाई स्पष्टीकरणको जवाफ नदिएको भन्दै पार्टीको साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको छ । उक्त कारबाहीको जानकारीको पत्र आयोगमा दर्ता भए छ ।

लगत्तै, ठाकुर पक्षको बैठकबाट यादवलाई निष्कासन गर्ने निर्णय भएको हो । दुवै पक्षले एकले अर्कोलाई पार्टी निर्णय विपरीत लागेको आरोप लगाएका छन् ।