काठमाडौँ, वैशाख ३० (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ । स्रोतका अनुसार आज दुई नेताबीच हुने वार्ताले अन्तिम निर्णय हुने बताइएको छ ।
ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताए । ‘उहाँहरु बीच भेट तय भएको छ । कहाँ भेट्ने भन्ने कुराकानी भइरहेको छ’, ती नेताले भने ।
पार्टी विवाद निर्णायक विन्दुमा पुगेका बेला ओली–नेपालबीच भेटवार्ता र संवाद तय हुन लागेको सुवास नेम्वाङले जानकारी दिए । “बिहान प्रधानमन्त्रीज्यूले माधव नेपाललाई फोन गर्नुभएको थियो । उहाँले दुई घण्टापछि खबर गर्छु भन्नुभएको थियो, गर्नुभएको छैन । उताबाट खबर आउनासाथ भेट तय हुन्छ,” नेम्वाङले भने ।
यता नेता नेपाल पक्षले पनि भेटवार्ताको तयारी रहेको पुष्टि गर्यो । समय तय हुन बाँकी रहेको स्रोतले बतायो । यसैबीच, आजै बालुवाटारमा प्रधानमन्त्री ओलीले आफ्नो पक्षको स्थायी कमिटी बैठक राखेका थिए । सो बैठकले माधव नेपालसहित चार जनाको कारवाही फिर्ता लिने निर्णय गरेको छ । सार्थ माधव पक्षसँग सहमति गर्ने सम्पूर्ण अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ ।
नेपाल पक्षले सहमतिको गाँठो २०७५ जेठ २ मा अड्किएको बताएका छन् । जेड २ मा फर्कन ओली राजी भए बाँकी विषयमा सहमति खोज्न सकिने उनीहरूको भनाइ छ । आफूहरूको अडानमा ओली सहमत नभएमा नेपाल पक्षीय सांसदहरूले दिउँसो ४ बजेसम्म राजीनामा दिने समेत चेतावनी दिएका छन्।
बिहीबार नै नेकपा एमालेको स्थायी कमिटी बैठकले नेता नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेको निलम्बन फुकुवा गरेको छ । उता माधवकुमार नेपालले पनि केपी ओलीसँग वार्तामा बस्नुअघि कानुनविदहरुसँग परामर्श गरेका छन् ।
एमालेमा नेपाल पक्षले तत्कालीन एमाले र माओवादी केन्द्र एक भएको ०७५ जेठ ३ अघिकै अवस्थामा फर्किनु पर्ने र २०७७ फागुनमा एमाले ब्युँतिएपछि ओलीले गरेका निर्णय खारेज गर्नुपर्ने माग राख्दै आएको छ।


