प्रतिनिधिसभाका २६ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभाका २६ सांसदसहित १६० जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

काठमाडौँ, वैशाख २५ (ई-रैवार)

संघीय संसद् प्रतिनिधिसभाका २६ सांसदलाई कोरोना संक्रमण भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभाका १९ सांसदसहित १६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार संघीय सांसद, संसद सचिवालयका कर्मचारी तथा संसदीय मामिला पत्रकारलगायत १ हजार २३५ जनाको पीसीआर परीक्षण गर्दा १६० जनामा पोजेटिभ देखिएको हो । १९ जना सांसदमध्ये एक जना राष्ट्रिय सभाका र बाँकी १८ जना प्रतिनिधिसभाका रहेको उनले बताए ।

पहिल्यै पीसीआर परीक्षण गराएका थप ८ जना सांसदलाई पनि कोरोना संक्रमण भएको छ । सांसदहरू झलनाथ खनाल, बिना मगर, रघुवीर महासेठ, सुरेशकुमार राई, सुरेन्द्र कार्की (राम कार्की) मन्त्री जुलिकुमारी महतलगायत ८ जनालाई पनि कोरोना संक्रमण भएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि वैशाख २७ मा प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएको छ, अधिवेशन अघि संघीय संसद् सचिवालयले गराएको पीसीआर परीक्षण र सांसदहरूले व्यक्तिगत रूपमा गरेको परीक्षणबाट उक्त संख्यामा सांसद कोरोना संक्रमित पाइएका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले न्यौपानेले एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । ‘१२३५ जनाको रिपोर्ट प्राप्त भएको छ, जसमध्ये १६० जना (११.९७ प्रतिशत) कोरोना पोजेटिभ आएको छ’, उनले भने, ‘१९ जना (राष्ट्रिय सभा १ जना समेत) माननीयहरु र १४१ जना संघीय ससद सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिब, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकारका कर्मचारी रहेका छन् ।’

प्रतिनिधिसभाका अझै ५४ सांसदको पीसीआर रिपोर्ट संसद् सचिवालयले प्राप्त गरिसकेको छैन । उनीहरूको पीसीआर परीक्षण भएपछि वा रिपोर्ट प्राप्त भएपछि कोरोना संक्रमित सांसदको यकिन संख्या थाहा हुने संसद् सचिवालयको भनाइ छ । संघीय संसद् सचिवालयले वैशाख २२, २३ र २४ गते दुई सय पाँच जना सांसदको पीसीआर परीक्षण गरेको थियो ।

प्रतिनिधिसभा बैठकमा कसरी सहभागी गराउने भन्ने उपायबारे छलफल हुँदै

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठकमा कोरोना संक्रमित सांसदलाई कसरी सहभागी गराउने भन्नेबारे सभामुख अग्निप्रसाद सापकोटा र संसद्का अधिकारीले छलफल गरिरहेका छन् । सभामुख सापकोटाले २० गते स्वास्थ्य क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए ।

सभामुख सापकोटाले प्रतिनिधिसभा बैठक सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्डका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञ विशेषज्ञहरू नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, विज्ञ चिकित्सकहरू डा. लोचन कार्की, डा. सुरेश तिवारी, डा. अनुप सुवेदी, डा. अमृत पोख्रेल, डा. सागरकुमार राजभण्डारीलयायतसँग सल्लाह गरेका थिए ।

स्वास्थ्य क्षेत्रका विज्ञहरूले सरकार र विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पालना गरेर बैठक सञ्चालन गर्न सुझाव दिएका थिए । सांसहरूको पीसीआर परीक्षण गर्न, बोल्दा मास्क नखोल्न, बसेको सिट परिवर्तन नगर्न, दूरी कायम गर्नुपर्ने लगायतका सुझाव उनीहरूले दिएका थिए ।

दुई दर्जन भन्दा बढी सांसद कोरोना संक्रमित पाइएपछि प्रतिनिधिसभाको २७ गतेको बैठक कसरी सञ्चालन गर्ने र उनीहरूलाई मतदानमा कसरी सहभागी गराउने भन्नेबारे सभामुख सापकोटा र संसद् सचिवालयका अधिकारी छलफलमा रहेका छन् ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले सांसदहरूको मतदानको अधिकार सुनिश्चित हुनेगरी अगाडि बढ्ने भन्ने छलफल भइरहेको बताए । उनले प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले कोरोना संक्रमित सांसदहरूलाई कसरी मतदानमा सहभागी गराउने भन्ने निर्णय लिने बताए । ‘कार्यव्यवस्था परामर्श समितिमा छलफल भएपछि कसरी अगाडि बढ्ने भन्ने तय हुन्छ । कोरोना संक्रमित माननीयहरूले भोट हाल्न पाउनुपर्छ, त्यसका लागि कसरी व्यवस्थापन गर्ने भन्ने विषय कार्यव्यवस्थाले टुंगो लगाउला भन्ने विषयमा परामर्श चलिरहेको छ,’ सचिव योगीले भने ।

कोरोना संक्रमण भएका सांसदहरूलाई मतदानमा मात्रै सहभागी गराउने तर बोल्न नदिने गरी व्यवस्थापन गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बुझिएको छ । कतिपय सांसद अस्पताल भर्ना भएकाले उनीहरूलाई कसरी ल्याउने भन्ने विषयमा पनि संसद् सचिवालयले कार्यव्यवस्था परामर्शको बैठकपछि व्यवस्था गर्ने अधिकारीले बताएका छन् ।