नेपाल-खनाल समूहद्वारा सांसदबाट सामुहिक राजीनामा दिने चेतावनी

नेपाल-खनाल समूहद्वारा सांसदबाट सामुहिक राजीनामा दिने चेतावनी
Spread the love

काठमाडौं, वैशाख २१ (ई-रैवार)

नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहमा सांसदबाट सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। पार्टीभित्रको अन्तरकलह यथावत राखेर प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएपछि नेपाल-खनाल समूहले सामुहिक राजीनामा दिन लागेको चेतावनी दिएका हो ।

खनाल–नेपाल समूह एक शीर्ष नेताका अनुसार आफूहरुबीच सामुहिक राजीनामाका विषयमा छलफल सुरु भएको छ । आफूहरूलाई यसरी नै पेलेरै जाने नीति लिए सामूहिक राजीनामा दिने सन्देश प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीलाई पठाएको नेपाल पक्षीय एक सांसदले बताए।

‘फागुन २८ गते ‌ओलीले एकलौटी रूपमा राखेको बैठकयताको समयलाई शुन्य समय मान्नुपर्छ। त्यो भनेको २०७५ जेठ २ मा फर्किनु हो,’ ती सांसदले भने,’ओलीसँग बहुमत छँदैछ। उनले चाहेमा पार्टीका सबै कमिटीलाई आयोजक कमिटीसमेत बताउन सक्छन्। तर हाम्रो उपस्थिति हुनुपर्छ।’

आफूहरूले राजीनामा दिँदा संघमा मात्र नभई प्रदेशमा समेत राजीनामा दिने उनले बताए। ‘संघ र प्रदेशमा समेत हामीले राजीनामा दिने हो भने सबैतिर एमालेको सरकार रहँदैन। त्यसको घाटा ओलीलाई नै हुन्छ,’ अर्का एक सांसदले भने, ‘फ्लोर क्रस,अनुपस्थितभन्दा यो बढी राजनीतिक हुन्छ भन्ने हाम्रो बुझाइ छ। यसले हामीलाई जनता र कार्यकर्तामा समेत जान सजिलो हुन्छ।’

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को रणनीति विश्लेषण गरेर निर्णयमा पुग्ने एक नेताले  जानकारी दिए । प्रधानमन्त्री ओली विश्वासको मत लिने निर्णयमा पुग्नुमा षड्यन्त्रको गन्ध आएको भन्दै आफूहरु सामूहिक राजीनामा दिने कि भन्ने विषयमा छलफल भएको ती नेताको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिने घोषणा गरिसकेका छन्। एमालेका १२१ सांसद रहेका छन्। नेपाल पक्षसँग रहेको भनिएका ३५ सांसदमध्ये प्रत्यक्ष निर्वाचित सांसद २३ जना हुन्। २३ मध्ये सुर्खेतबाट निर्वाचित ध्रुव शाहीले नेपाल समूह छोडेको बताइसकेका छन्। बाँकी २२ मध्ये ओलीले २० जनालाई स्पष्टीकरणसमेत सोधेका छन्। ओलीले प्रत्यक्षतर्फका २० सहित ३० जना सांसदलाई स्पष्टीकरण सोधेका छन्।